ओलीलाई तीन पटक हटाइसक्यौँ, केही दिनमै चौथो पटक हटाउँछौँ : प्रचण्ड
लाज घिन पचाउँदै 'नकचरो' भएर पदमा बसिरहेको आरोप

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनमै पदबाट हटाउने घोषणा गरेका छन्। 

गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने दाबी गरेका हुन्। ओलीलाई आफूहरुले तीन तीन पटकसम्म पार्टीबाट हटाइसकेको भन्दै निर्वाचन आयोगले उचित कदम नचालिँदिँदा समस्या भएको आरोप लगाए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले लाज पचाउँदै अझै नकचरो भएर पदमा बसिरहेको पनि उल्लेख गरे। ओलीको निरङ्कुश प्रवृत्तिविरुद्ध लडिरहनु परेको भन्दै अब चौथो पटक फेरि आफुहरुले हटाउने प्रचण्डको भनाइ छ।

‘केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ । एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्‍यौं', उनले भने, 'दलको नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो। दुई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले केपीलाई पार्टी सदस्यबाट समेत हटाएकै हो।'

अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने पनि दाबी गरेका छन्। 'केपीको निरन्तरताका विपक्षमा उभिनेहरु मिलेर सरकार बनाउने हो,’ उनले भने अगाडि भने, 'अबको केही दिनमै हामी सरकार बनाउनेतिर लाग्नेछौँ।'

के भने प्रचण्डले ?



केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ । एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्‍यौँ। दल नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो । दुई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले केपीलाई पार्टी सदस्यबाट समेत हटाइयो ।

संविधानअनुसार दल नेता नरहेपछि प्रम जान्छ नि! जानुपर्ने हो । हामीले त हटाइदियौँ । मैले राजनीतिक भाषा बोलेको होइन । कानूनी संवैधानिक रुपमा नै भनिरहेको छु। राष्ट्र विरोधी, लोकतन्त्रविरोधी, संविधानविराेधी काम गरेको तथा पार्टी अनुशासन पालन नगरेको कारणले उनलाई हटाइयो ।



संविधान-कानुनअनुसार बहुमतले हटायौँ भनेर निर्वाचन आयोगमा आफैं उपस्थित भएर पनि भन्यौं । हामी यहाँ छौं भन्यौं । तर निर्वाचन आयोगले निर्णय गरेन, जो गर्नै पर्थ्यो। ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतलाई प्रधानमन्त्री भनिराख्न मिल्दै मिल्दैनथ्यो । तर त्यही भयो । हाम्रो तर्फबाट त हामीले जितेकै हो ।

तेस्रोपटक चाहिँ, उहाँले संसद विघटन गर्नुभयो । हामीले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । अरु पार्टीले पनि भने । जनता लाखौं सडकमा उत्रे । अदालतले पनि जनताको त्यो देखिसकेपछि संसद विघटनविरुद्ध पुनःस्थापनाको निर्णय लियो ।

यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसलाई अदालतले उल्टाइदिए पछि तुरुन्तै प्रधानमन्त्रीबाट हटाउनुपर्थ्यो । दुनियाँको कोही मान्छे बसिराख्दैन यसरी लाज, घिन पचाएर । तर विडम्बना भन्‍नुपर्छ, अहिलेसम्म नकचरो भएर केपी प्रधानमन्त्री पदमा बसिरहेका छन् । तीनपटक त हामीले हटायौँ । अब चौथो पटक केही दिनभित्रै हटाउँछौँ । हेरौं चौथो पटक के हुन्छ ? केही दिनभित्रै हुन सक्छ ।

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार २१:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया