कोरोना प्रभाव : सुदूरपश्चिममा भारतबाट स्वदेश फर्कनेको लर्को

भारतमा कोरोना संक्रमणको दोस्रो लहर अत्यधिक गति बढिरहेको छ । कोरोनाको त्रासदीका बावजुद पनि सुदूरपश्चिमेलीहरु आफ्नो जन्म घर फर्कनका लागि यतिबेला सीमानाकामा लर्को लागेको छ । सुदूरपश्चिमेलीहरु ​विशेष गरी नयाँ वर्ष तथा ‘बिसु’ पर्व मनाउन स्वदेश फर्किएका हुन् । रोजगारको सिलसिलामा तेस्रो मुलुक गएकाहरु पर्व मनाउन स-परिवार घर फर्किरहेका छन् । 

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा थामी नसक्नु भीड लाग्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाका भएर दैनिक दुई हजार पाँच सय बढी नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । नयाँ वर्षको अवसरमा यहाँ भव्य रूपमा मनाइने बिसु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष बिसुको रौनक थिएन । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला जिल्लामा मौलिक तरिकाले बिसु पर्व मनाउने गरिन्छ । सुदूरपश्चिम क्षेत्रमा बिसु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजुले एकआपसमा सिस्नु लगाउने गरेको जानकारहरुको भनाइ रहेको छ । यसरी सिस्नु लगाउनाले वर्ष दिनभर कुनै पनि संकट नआउने विश्वाससमेत गरिन्छ ।

भारतमा केही दिनयता कोरोना संक्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका ददी रोकायाले परिवारसहित बिसु पर्वका लागि घर फर्किएको बताए । । ‘दुई वर्षअघि रोजगारीका लागि भारतको दिल्ली गएको थिएँ ।’ घर फर्किदै गर्दा गौरीफन्टा नाकामा भेटिएका रोकायाले भने, ‘भारतमा कोरोना निकै बढिरहेकाले पर्वको बहानामा घर फर्किएका हौँ ।’

सुदूरपश्चिमेलीहरु चाडपर्वको बेलामात्र घरमा आउने अन्य समयमा रोजगारको लागि भारतमा जाने गर्दछन् । विशेष गरी दसैँ, नयाँ वर्ष, होरीमा स्वदेश फर्किने गरेका छन् । ‘गहुँ खेती लगाएर भारत जान्छु र धान खेती लगाउने सयमा घर फर्किने गर्छौँ’, अछाम साँफेबगर नगरपालिका कलेन्द्र बब्लीले भने । ‘पेट पाल्नका लागि अर्कोको देशमा नोकरी गर्न जानुपर्ने आफूहरुको बाध्यता हो ।’ नयाँ वर्षमा प्राय नेपालीहरु स्वदेश फर्किने गरेको उनले सुनाए ।



५ प्रतिशतमा कोरोना संक्रमण
भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किनेहरुको लागि सीमा नाकामा नै स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएका छन् ।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यस्तो देखिएको स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका हुन् । दुवै नाकामा आइतबारसम्म १० हजार जनाको परीक्षण गरिएकामा ४ सय ५० जनामा कोरोना पुष्टि भएको हो ।



भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष ‘बिसु’ र चैते दसैँ मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ । गौरीफन्टाबाट दैनिक १५ सय र गड्डाचौकीबाट दैनिक १ हजार जना नेपाली स्वदेश फर्किरहेका छन् । कैलालीको गौरीफन्टास्थित हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदका अनुसार हालसम्म ३ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको बताए । 

‘हामीले चैत १७ गतेयता भारतबाट फर्केका ७ हजार जनाको एन्टिजेन परीक्षण गरेका छौँ । तीमध्ये ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ’, हेल्थ डेस्क प्रमुख साउदले फरकधारसँग भने । गड्डाचौकीमा हालसम्म २ हजार १७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४८ जनामा पोजिटिभ देखिएको छ । 

शनिबार एकै दिन १० जनामा पोजिटिभ देखिएको कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । ‘अहिले भारतबाट फर्किनेको संख्या बढेको छ, नमुनाका रूपमा गरिएको परीक्षणमा एन्टिजेन पोजिटिभ बढेको छ’, उनले भने ।

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १०:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया