प्रधानमन्त्रीले भने : माओवादीले धक्कु नलाए हुन्छ, अर्को चुनावमा सबै जुँगा उखेलिदिन्छौँ

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन माओवादी केन्द्रलाई चुनौती दिएका छन्। आफूलाई हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री पद बाँड्दै हिँडेको पनि आरोप उनले लगाएका छन्। 

‘शेरबहादुर दाइ प्रधानमन्त्री बनिदिनुस् न, महन्थ दाइ प्रधानमन्त्री बनिदिनुस् न भन्दै हिँडेका छन्,’ प्रधानमन्त्रीले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘के का लागि त भन्दा कम्युनिष्ट आन्दोलन बलियो बनाउन रे !’ उनले माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गर्दै कांग्रेस र जसपाकहाँ रुन, कराउन गइरहेको पनि बताए।

नेकपा एमालेले नै जिताइदिएका सांसदहरुलाई माओवादी केन्द्रले एक-एक गरेर निकालेको पनि उनले बताए। एमालेको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले टाँसिदिएको जुँगा थियो र एउटा, एउटा गरेर उखेल्दै छन्, अर्को चुनावमा सबै जुँगा उखेलिदिन्छौँ।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा समानान्तर कमिटी बनाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालको चर्को आलोचना गरे। ‘नेपालजीले बसपार्कमा यात्रुलाई झैँ टिकट बाँड्दै हिँडेका छन्', उनले भने, 'आफैँ चुनाव जित्दैनन्, त्यस्ता टिकट बाँडेर के काम?’ 

राजीनामा दिन्‍नँ

ओलीले आफूसँग अहिले पनि बहुमत रहेकाले पदबाट राजीनामा नदिने अडान दोहोर्‍याए। 'प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिएर देखाउनु', प्रधानमन्त्रीले माओवादीतर्फ लक्षित गर्दै भने, ‘मसँग बहुमत छ, किन र के का लागि राजीनामा दिनु? बहुमतबाट हटाउने हो भने समर्थन फिर्ता लिनु, यो समर्थन मलाई चाहिँदैन, फिर्ता लगे हुन्छ।'



माओवादी अध्यक्षप्रति लक्षित गर्दै उनले समर्थन फिर्ता लिन नसक्ने तर राजीनामा मागिरहने भन्दै कटाक्ष गरे। 'समर्थन फिर्ता लिन नसकेर कांग्रेस र जसपा गुहार्दै हिँडेका छन्', उनले भने, 'त्यसलाई माधव नेपाल पक्षले पनि सघाइरहेका छन्। यस्ता धाक धक्कुसँग म डराउनेवाला छैन।'

प्रधानमन्त्रीले फागुन ११ मा पुन:स्थापित प्रतिनिधिसभाले कामै गर्न नसक्ने पनि जिकिर गरे। 'पुन:स्थापित प्रतिनिधिसभाले राजनीतिक अस्थिरता ल्यायो, यसले काम गर्न सक्दैन', उनले भने, 'अदालतको फैसला मानेका छौँ। तर यो संसदबाट पार लाग्ने अवस्थामा छैन। अब तत्काल नयाँ सरकार पनि बन्न सक्दैन।'



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १६:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया