ओलीकै पक्षमा जसपा : कांग्रेस नेतृत्वमा नयाँ सरकारको ‘च्याप्टर क्लोज’
महन्थको अडान : हामी पनि अब चुनावबारे सोचौँ

जनता समाजवादी पार्टी (जसपा ) अनिर्णित हुँदा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावनाको ‘च्याप्टर’ तत्काललाई ‘क्लोज’ भएको छ । 

जसपा पदाधिकारीहरूको आइतवार बसेको बैठकले कुनै दलको समर्थन वा विपक्षमा जाने निर्णय नलिँदा तत्कालका लागि केपी शर्मा ओलीलाई बिदा गरेर सरकार बन्ने सम्भावना तत्काललाई टरेको हो।

कांग्रेसले अबको सरकारको नेतृत्व लिने बताउँदै माओवादी केन्द्र र जसपासँग सहमति खोजेको थियो। उसका प्रस्तावमा माओवादीले बाध्यतापूर्वक समर्थन गरेको थियो तर जसपाले छलफल गर्ने भनेर पन्छिएको थियो।

कांग्रेसको नेतृत्वमा सरकार निर्माणबारे छलफल गर्न बसेको बैठकमा माओवादी केन्द्रले तत्कालै समर्थन जनाए पनि जसपाले भने पार्टीबाट निर्णयका लाछि छलफल गर्ने भनेर टारेको थियो।

हिजो भएको जसपा पदाधिकारीको बैठकमा सरकारको नेतृत्वबारे कुनै निर्णय लिन सकेन । स्रोतका अनुसार नेताहरुको आन्तरिक विवादमै बैठक सकियो । एकले अर्काको कुरामा प्रतिवाद गर्न थालेपछि बैठक बिना निर्णय टुंगिएको एक नेताले बताए ।

जसपाले हिजो सरकारबारे निर्णय नलिँदा कांग्रेसको आज बस्ने केन्द्रीय समितिको बैठकमा समेत असर पारेको छ । अर्थात् जसपाबाट कांग्रेसलाई सहयोग गर्ने निर्णय नआएपछि एउटा कारण देखाउँदै कांग्रेसले बैठक स्थगित गरेको हो । जसपा साइलेन्स बस्दा नयाँ सरकारको निर्माण पनि अहिलेलाई अलपत्र परेको छ।



सरकार नेतृत्वको विषयमा जसपा मात्रै नभइ पछिल्लो समय माओवादी केन्द्रले पनि आफ्नो बोली फेरेको छ । कांग्रेस नेतृत्वमा सरकारमा सहभागी हुने बताउँदै आएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि हिजोदेखि कुरा फेर्दै भन्न थालेका छन्–अब जसको नाममा सहमति बन्छ, उसैको नेतृत्वमा सरकार बनाइन्छ ।
जसपा बैठकमा के के भयो?

होलीपछि जसपाले अनौपचारिक रुपमा पदाधिकारी बैठक डाकेको थियो । सरकार नेतृत्वबारे छिनोफानो गर्न बसेको बैठक नेताहरुको आन्तरिक विवादमै सकियो । अर्थात् सबैले आफ्नै मुद्दालाई निर्णय गराउन खोजेपछि बैठकले कुनै निर्णय लिन सकेन ।



बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई र अशोक राई–राजेन्द्र श्रेष्ठको स्वर एक थियो । चारै जनाको प्रस्ताव पनि एउटै थियो । स्रोतका अनुसार हिजो बैठकमा यी चारै नेताले भनेका थिए, ‘कांग्रेसको नेतृत्वमा सरकारमा नगए, ठीकै छ, तर आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय गरौं ।’ 

स्रोतका अनुसार यादव खेमाका नेताहरुले हिजो डा. बाबुराम भट्टराई नेतृत्वमा सरकारमा जाने निर्णय गराउन खोजिरहेका थिए । तर जसपा अध्यक्ष महन्थ ठाकुरले हुँदैन भनेर आफ्नो अडानमा बसे।

ठाकुर भनिरहेका थिए, ‘अहिले सरकारबारे कुनै निर्णय हुँदैन। केपी शर्मा ओली नेतृत्वको सरकारले सबै काम गरिरहेको छ, त्यसैले अहिले केही नगरौं । सरकारको विकल्प नखोजौँ, बरु एक साता कुरौँ ।’ 

यसका अलावा बैठकमा ठाकुरले कांग्रेस आफैँले पनि सरकारको नेतृत्व गर्न नचाहेको विषयको खुलासा गरे। ‘कांग्रेसले सरकार निर्माण गर्न चाहिरहेको छैन, उसको चाहना चुनावतर्फ छ । त्यसैले यो सब कुरामा हामीले पनि गम्भीरताका साथ अगाडि बढ्नुपर्छ ।’

यो भनाइमा जसपा वरिष्ठ नेता राजेन्द्र महतोको पनि समर्थन सुनियो। उनी पनि बैठकमा सरकार निर्माणबारे निर्णय नगरी एक साता कुर्ने पक्षमा उभिए। आपसी सहमति नहुँदा बैठक बिनानिष्कर्ष सकिएको थियो ।

अन्तिम बाटो चुनाव

सरकार निर्माणबारे जसपा मात्रै नभइ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बोली फेरेका छन् । सधैँ कांग्रेस नेतृत्वमा सरकारमा जान तयार रहेको बताउने प्रचण्डले हिजो भने, ‘अब जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सरकार बन्छ । 

जानकारहरुका अनुसार यसको सीधा अर्थ अब नयाँ सरकार बन्ने सम्भावना सकिएको छ। ‘कांग्रेसको नेतृत्वमा सरकार बनेन भने उसले अरुलाई समर्थन नै गर्दैन, त्यहीकारण यो सरकार टिकिरहन्छ । कांग्रेसलाई यही सरकारबाट दोहोरो फाइदा पनि भइरहेको छ ।’

यता जसपामा महन्थ ठाकुर नेतृत्वको एउटा खेमा पहिलेदेखि नै ओली सरकारसँग नजिक छ। उसले मधेस आन्दोलनका मुद्दा सम्बोधन गराउने लविङ गरिरहेको छ । 
तत्कालका लागि कुनै पनि दल ओलीको विपक्षमा नजाने देखिएको जानकारहरु बताउँछन् । उनीहरु भन्छन्, ‘बरु सबै दल आपसी सहमतिमा गएर अर्ली चुनावको बाटो रोज्ने सम्भावना बढ्दै गएको छ ।’

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १७:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया