आगलागीबाट चैतमा मात्रै ९३ घर नष्ट
कालिकोटको पचालझरना गाउँपालिका–८ स्थित खोलीबजार, भुराबगरमा भएको आगलागीबाट जलेका घरहरू, यहाँ आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् ।

गर्मी मौसम सुरु भएसँगै देशभर अत्यधिक मात्रामा आगलागीका घटना भइरहेका छन् । लामो समयसम्म परेको खडेरीले वनजंगल तथा मानव बस्तीमा आगलागी भइरहेको छ । आगलागीबाट चैत महिनामा मात्रै कर्णालीका ९३ वटा घर जलेर नष्ट भएका छन् ।

जसमा सबैभन्दा बढी जुम्लामा ४४ घर जलेका छन् । सुर्खेतमा ११, दैलेखमा २, जाजरकोटमा ३, सल्यानमा १४, रुकुम पश्चिममा १०, कालिकोटमा ९ घर जलेका छन् । ३५ वटा आगलागीका घटनाबाट ९३ घर जलेका हुन् । आगलागीबाट ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ३१ वटा पशु चौपाया मरेका छन् ।

आगलागीबाट ५ करोड ६३ लाख ५८ हजार रुपैयाँको क्षति भएको छ । गर्मी मौसममा कर्णालीमा बर्सेनि आगलागीका घटना हुने गरेका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा कर्णालीमा १११ आगलागीका घटनाबाट २३३ वटा घर जलेर नष्ट भएका छन् । जसमा परी ११ जनाको मृत्यु भएको छ । भने १५ जना घाइते भएका छन् । २१५ पशु चौपाया मरेका छन् । आगलागीबाट १६ करोड ४५ लाख ४१ हजार ५१४ रुपैयाँ बराबरको धनमाल नष्ट भएको कर्णाली प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

यतिबेला कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न क्षेत्रका वनमा आगलागी भइरहेको छ । अहिलेसम्म कति वनमा आगलागी भयो भन्ने तथ्याङ्क समेत संकलन गरिएको छैन । आगलागीकै कारण अत्यधिक मात्रामा वायु प्रदूषण बढिरहेको छ । 

वनमा आगो लगाएर नयाँ घाँस उमार्ने सानो सोचले आगलागीका घटना निम्त्याउने गरेका जनसाधारणको बताए ।

आगलागीका घटना बढ्नुको प्रमुख कारण लामो समयको खडेरी भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) वसन्तकुमार पन्तले बताए । ‘गत वर्षको तुलनामा यो वर्ष धेरै आगलागीका घटना भइरहेका छन्,’ उनले भने, ‘यो वर्ष लामो सयमसम्म मौसम सुख्खा रहेको छ । सुख्खा मौसममा केही व्यक्तिहरू मदिरा सेवनसँगै चुरोटका ठुटा जथाभावी फाल्दा, केही व्यक्तिहरू जानीजानी पनि आगलागीका घटनाहरू गराइरहेका छन् ।’ 



आगलागीका घटनामा संलग्नलाई कडा कारबाही गरिने उनले बताए । आगलागीका घटना अझै पनि हुने भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ ।



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १७:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया