२०७७ मा कलाक्षेत्र : शून्य काम, विवाद तमाम

वर्ष ०७७ लाई बिदा गरेर ७८ को स्वागतमा जुटिरहेका सम्पूर्ण नेपालीका लागि ७७ साल सुखद रहेन । ७६ सालबाटै सुरु भएको कोरोनाको संकट सम्पूर्ण ७७ सालले बेहोर्नुपर्याे । लामो समयको लकडाउन, लकडाउनका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रका कारण देशका सबैजसो क्षेत्र प्रभावित भए । त्यसमा पनि अहिलेसम्म उठ्नै नसकेको क्षेत्रभित्र पर्छ, मनोरञ्जन क्षेत्र । 

लकडाउनअघि नै कोरोना सन्त्रासका कारण सुनसान भएको नेपाली फिल्मी क्षेत्र १० महिना ठप्प रह्यो । सिनेमाघर सुनसान रहे । कैयौँ सिनेमाघर सधैँका लागि बन्द भए । केही सिनेमा घर स्वरुप परिवर्तन गर्ने क्रममा छन् । ०७७ सालमा हलमा केवल ४ सिनेमा लगाइयो । 

ती सबै सिनेमाले पोस्टरको खर्च उठाउन सकेनन् । नयाँ वर्षमा पनि हल सुनसान नै छन् । व्यापार र चलचित्र रिलिजका हिसाबले सुनसान रहेको सिनेमा उद्योग कलाकारका कारण भने वर्षभर नै चर्चाको शिखरमा रह्यो । कलाकारका चर्चा र विवादले चलचित्र उद्योग नै चलायमान भएको जस्तो भान दिएर ७७ सालको अन्त्य भएको छ । 

भुवन केसीमाथि हिंसाको आरोप
 
०७७ सालमा नेपाली सिने उद्योग तताउने सबैभन्दा तातो घटना बनिदियो, पुराना अभिनेता भुवन केसी र पछिल्लो पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको लफडा । भुवन केसीले नै चलचित्र उद्योगमा भित्र्याएकी अभिनेत्री शाहले भुवनले आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाइन् ।

अभिनेत्री शाहले आफूमाथि अग्रज कलाकार केसीले छायांकनमा विभेद गरेको र हिंसा गरेको बताएकी थिइन् । शाहको यो अभिव्यक्तिपछि सिने उद्योग निकै गर्मायो । सिने उद्योगकै मानिस ३ कित्तामा विभाजित भए । एकथरीले भुवनको पक्षमा वकालत गरे । ​

अर्काथरीले साम्राज्ञीको पक्षमा वकालत गर्दा एकाथरी कलाकार भने मौन रहे । यो विवाद निकै चर्किएपछि भुवन केसीले अदालतमा मुद्दा दायर गरे । हाल यो मुद्दा अदालतमा विचाराधीन छ । 



चुच्चे नक्साले घोचेको वर्षाको मन

अभिनेत्री वर्षा राउतलाई वर्ष ७७ मा जारी भएको देशको चुच्चे नक्साले नराम्रोसँग घोच्यो । नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि एक टेलिभिजन कार्यक्रममा उनले दिएको अन्तर्वार्ताका क्रममा वर्षाले भारतमा रहेका आफ्ना शुभचिन्तकको चिन्ता गरिन् ।



नेपाल र भारतको सिमानामा रहेको केही भूभाग समेटेर नयाँ नक्सा जारी हुँदा खुसी हुनुको सट्टा वर्षाले ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेर दिएको अभिव्यक्ति उनलाई निल्नु न ओकल्नु भयो । यो अभिव्यक्तिपछि उनको चर्को आलोचना भयो ।

यही समय बलिउडमा राज गरेकी नेपाली अभिनेत्री मनीषा कोइरालाले नेपालको पक्षमा वकालत गरेपछि वर्षाको झन् चर्को आलोचना भयो । आलोचनाको भारीले थिचिएर केही समय मौन रहेकी वर्षाले अन्ततः सार्वजनिक रुपमा माफी नै मागिन् । वर्षाले माफी मागे तापनि उनलाई उक्त अभिव्यक्तिले पछ्याउन छाडेको छैन । 

‘महानायक उपाधि’ विवाद  

लकडाउनकै समयमा अभिनेता राजेश हमालको ‘उपाधि’लाई लिएर अर्को ठूलो विवाद भयो । महानायकको उपाधिलाई लिएर बेलाबेलामा विवाद भइरहेका हुन्थे । ७७ सालमा भने यो उपाधिले निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई भने नराम्रोसँग फसायो ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन पुगेकी दीपाश्रीले ‘राजेश हमाल महानायक हुन् र ?’ भनेर दिएको अभिव्यक्तिका कारण उनको आलोचना मात्रै भएन, उनको चरित्रमाथि नै थुप्रै मानिसले सामाजिक सञ्जालबाट प्रहार गरे । विशेष गरेर उनको नाम दीपकराज गिरीसँग जोडेर विभिन्न आक्षेप लगाइयो ।

यो विवाद सुरु भएपछि दीपाश्री मौन रहिन् । दीपाश्रीका तर्फबाट दीपकराज गिरीले विभिन्न टिप्पणी गरिरहे । यो समय थुप्रै महिला कलाकार दीपाश्रीको पक्षमा देखिए । राजेश हमाल निकै समय मौन रहे । यही विवादलाई लिएर अन्तर्वार्ता दिन पुगेका हमालले पनि दीपाश्रीको नामसमेत उच्चारण नगरेर दम्भ देखाए ।

दुई महिनासम्म यो विवाद सेलाउन सकेन । दीपाश्री सार्वजनिक रुपमा देखिन छाडिन् । अभिनेता हमालका एकाथरी फ्यानले दीपाश्रीलाई माफी दिएर उदारता देखाउन भनेपछि हमाल पनि उदार देखिए । उनले आफ्ना फ्यानलाई दीपाश्रीलाई माफी दिन भन्दै एक भिडियो सन्देश पोस्ट गरे । त्यसपछि यो विवाद साम्य भयो । 

क्लबमा उत्रिएको जातको नसा

अभिनेत्री सुष्मा कार्कीलाई क्लबको नसाले प्रहरी चौकीसम्म पुरायो । दरबारमार्गको एक क्लबमा राति पुगेकी सुष्मा र चलचित्र पत्रकार उत्सव रसाइलीबीच राम्रै लफडा भयो । अर्की अभिनेत्री श्वेता खड्का परिवारसँग क्लबमा पुगेका उत्सव र सुष्माबीच हात हालाहाल नै भयो ।

उत्सवलाई श्वेता खड्काकी बहिनी आरतीले पनि साथ दिइन् । आरती र उत्सवले आफूमाथि हातपात गरेको उजुरी लिएर दरबारमार्ग प्रहरी प्रभाग पुगेकी सुष्मा उल्टै उत्सवसँग माफी मागेर फर्किन् । क्लबमा सुष्माले आफूलाई जातको कुरा निकालेर गाली गरेको भनेपछि यो उजुरी उल्टो गतिमा चलेको थियो ।

त्यसपछिका केही अन्तर्वार्तामा सुष्माले जातलाई जित्ने हतियार बनाएको बताइन् । उनी अझै उत्सवलाई माफी दिए पनि श्वेतालाई भने माफी दिन नसक्ने बताउँदै आएकी छिन् । 

माझी बस्तीमा फसेकी श्वेता

बितेको वर्ष अभिनेत्री श्वेता खड्का लागि निकै उपलब्धिमुलक रह्यो । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि एक्लै रहेकी श्वेताले यही वर्ष लगनगाँठो कसिन् । बिहेको माहोलमा रमाइरहेकी श्वेतालाई एक्कासि माझी बस्तीले डुबायो ।

निकै चर्चाका बीच बनिरहेको भनिएको सिन्धुपाल्चोकको ‘एकीकृत माझी बस्ती’ श्वेताले नबनाएको खबर एकाएक भाइरल भयो । यही समय श्वेताले आर्थिक अभावले बस्ती अलपत्र परेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । किस्ता–किस्तामा बिहेको पार्टी गरिरहेकी श्वेतालाई त्यसपछि बस्ती निर्माणका लागि सहयोग गर्ने दाताले नै सोच्न बाध्य भएको सन्देश पठाए ।

गर्नुपर्ने भन्दा धेरै तामझाम गरेको भन्दै उनको झन् धेरै आलोचना भयो । त्यसपछि श्वेताले माझी बस्ती आफ्नो सपनाको बस्ती भएको भन्दै सामाजिक सञ्जालमा भावुक भएर देखा परिन् । तथापि, श्वेतालाई यो विवादले पछ्याउन भने छाडेको छैन । 

एक–अर्काको टिमबाट बाहिरिए जितु–दीपा

दीपाश्री निरौलाले अध्यक्षता गरेको कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपालाई हटाइयो । दीपाश्री महानायक विवादमा फसेपछि जितु नेपालले उक्त सोबाट दीपालाई निकाले भन्ने चर्चा राम्रैसँग मौलायो । दीपाको ठाउँमा अर्की अभिनेत्री करिश्मा मानन्धर अध्यक्षको भूमिकामा देखा परिन् ।

त्यसपछि सुरु भएको मुन्द्रे–दीपाको विवाद अहिले पनि चलिरहेकै छ । आफ्नो टिमको कलाकार अप्ठ्यारोमा पर्दा साथ नदिएको भन्दै दीपक–दीपा जितुसँग रुष्ट देखिए । उनीहरुले जितुलाई छक्कापञ्जा टिमबाटै आउट गरे । जितुले आफूहरुको सम्बन्ध सुमधुर रहेको बताउँदै आए पनि यो समस्या सुल्झिएको छैन । 

पूजा–प्रकाशको लफडा

अभिनेत्री पूजा शर्मा पनि यो वर्ष सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन् । सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा अन्तर्वार्ता दिन नआएपछि पूजालाई ‘दारा भएकी नायिका’ भनेर सम्बोधन गरे । त्यसपछि पूजा शर्मा कलाकार संघमा मान हानिको उजुरी लिएर पुगिन् । कलाकार संघमा सुवेदी र शर्माबीच छलफल भयो । तर, पूजा र प्रकशबीचको यो विवादले मनोरञ्जन क्षेत्र लामो समय तरंगित भइरह्यो । 

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार २१:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया