नयाँ वर्षबाट प्रदेश राजधानी हेटौंडामा पार्किङ व्यवस्थित गरिने

बागमती प्रदेशको राजधानी हेटौंडाका साँघुरा सडक छेउमा हुने गरेको अव्यवस्थित पार्किङलाई नयाँ वर्षको सुरुवातसँगै व्यवस्थित गरिने भएको छ ।

अव्यवस्थित पार्किङ हटाएर हरित नगरी हेटौँडालाई अझ सुन्दर बनाउने प्रयत्न सरोकारवाला सरकारी निकायले गरेको हो । २०७८ साल वैशाख १ गतेदेखि लागू हुने गरी हेटौंडाको राप्ती रोड र बैंक रोड क्षेत्रमा हुने पार्किङलाई पूर्ण रूपमा निषेध गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडाको बुद्ध चोकदेखि बैंक रोड र राप्ति रोड बजार क्षेत्र राष्ट्रिय राजमार्गमा पर्ने भएकाले सवारी दुर्घटनाको जोखिम कम गर्न पार्किङ निषेध गर्न लागिएको हो । ३ वर्षअघि पनि जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत निकायसँगको समन्वयमा यस्तो तयारी गरिएको थियो । तर, व्यवसायीहरूका विरोधका बाबजुत उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले जिल्ला प्रशासनको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गरिने बताए ।

राष्ट्रिय राजमार्गमा परेका सडक र बजार क्षेत्रमा हुने असुरक्षाका कारण पार्किङलाई व्यवस्थित गर्न खोजिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पार्किङ निषेधित भएपछि अब मोटरसाइकलसहित साना सवारी चालकहरूले जिल्ला प्रहरी कार्यालय अगाडिको खुला क्षेत्रमा सवारी पार्किङ गर्नुपर्नेछ ।

त्यसैगरी बैंक रोडलाई पार्किङ निषेधित क्षेत्र बनाएपछि वनविज्ञान अध्ययन संस्थान अगाडि सडकको छेउमा पार्किङका लागि स्थान तयार गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पार्किङ स्थल निर्माणका लागि डिभिजन सडक कार्यालय हेटौंडाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।  



सडक विस्तार नहुँदा अस्तव्यस्त 

हेटौँडा बजार क्षेत्रका सडक फराकिलो पार्ने यसअघि डिभिजन सडक कार्यालयको निर्देशन र तयारी कार्यान्वयन हुन नसक्दा साँघुरा सडकहरूमा सवारी पार्किङ अस्तब्यस्त देखिन्छ ।



कान्ति लोक पथ, पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा बजारको मुख्य क्षेत्रका संरचना भत्काएर २५/२५ मिटर दायाँ-बायाँ सडक विस्तार गर्ने योजना अझै साकार भएको छैन । प्रदेशको राजधानी भएसँगै हेटौँडा बजारलाई फराकिलो बनाउँदै व्यवस्थित पार्किङसहितको बजार व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले ध्यानाकर्षण गराउँदै आएका छन् ।

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १९:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया