logo-img

मेयरबाट कार्यालयमा कुटिएका युवालाई उल्टै अभद्र मुद्दा !

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उनका सहयोगीले कुटपिट गरिएका एक जना युवालाई प्रहरीले उल्टै अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

आफ्नो भवन निर्माण रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी नगरपालिका वडा नम्बर ५ का विष्णुप्रसाद भण्डारी र उर्लाबारी नगरपालिका-८ का नारायण बस्नेतमाथि मेयर फागोसहितले कार्यालयमै कुटेका थिए।

सोमबार नगरपालिका परिसरमै निर्घात पिटिएका बस्नेतविरुद्ध मेयर फागोकै दबाबमा मुद्दा चलाइएको हो।  इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले भने मेयरलाई हुलहुज्जत गर्ने मनसाय पाइएपछि मुद्दा चलाइएको बताए।

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले दिएको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित भण्डारीले मेयर फागोसहितलाई प्रतिवादी बनाउँदै दिएको उजुरीलाई ‘ठाडो निवेदन’ भन्दै प्रहरीले दर्ता गर्न मानेन।



गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी सो विषयमा कारण खोज्दै नगरपालिका पुगेका थिए। उनले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर ‘आफ्नो काममा किन अवरोध गरिएको’ भन्दै जानकारी मागेका थिए।



घिमिरेले ‘यसबारे मेयरलाई नै बुझ्नु’ भनेर पन्छिएपछि मेयरको कार्यकक्षतर्फ लाग्दै गर्दा एक्कासी आफूहरूमाथि स्थानीय दुर्गा फागो र ड्राइभर भनिने दीपेन्द्र धिमालले कुटपिट गरेको पीडित भण्डारीले बताए।

त्यसपछि मेयर फागोले पनि जँगिदै भण्डारी र बस्नेतमाथि लात्ती हानेको प्रत्यक्षदर्शी उर्लाबारी-४ का खड्गबहादुर थापाले बताए । कुटपिट भइरहँदा नगर प्रहरी र अन्य कर्मचारी मुकदर्शक बनेका थिए। केही बेरपछि बस्नेतलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा संलग्न दुर्गा फागो मेयरका भतिजा हुन् भने धिमाल मोरङ जिल्ला फुटबल संघका अध्यक्ष हुन्।
 
सार्वजनिक रुपमा मेयरसँग माफी मागे थुना मुक्त गरिदिने नगरपालिकाको प्रस्ताव अस्वीकार गरेपछि उनलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ। आफू जस्तोसुकै कारबाही भोग्‍न तयार रहेको भन्दै बस्‍नेतले फागोको अघि नझुक्ने बताए। 



प्रहरीको आफ्नै दुईवटा भ्यान हुँदाहुँदै मेयर फागोले उपलब्ध गराएको स्थानीय बद्री टेन्टको भ्यानमा राखेर नारायण बस्नेतलाई विराटनगरतर्फ लगिएको भन्दै स्थानीय इन्द्र लामाले आपत्ति जनाए । ‘षडयन्त्रको तानाबुना यतिमै सीमित छैन, छत नभएको गाडीमा हतकडी लगाएर एउटा निरपराध व्यक्तिलाई अपराधी करार गर्न प्रहरी नै अग्रसर हुनु दुःखद छ।’

भण्डारीले गत पुस ४ गते उर्लाबारी नगरपालिका–५ निवासी युवा प्रवीण बाँस्तोलाको हत्या प्रकरणमा पीडित पक्षलाई सघाएको भन्दै मेयर फागोले रिसिबी साँधेर कुटपिट गरेको बताए। फागो र भण्डारी छिमेकी पनि हुन्। यसबारे प्रतिक्रिया लिन खोज्दा फागोले विस्तृतमा बोल्न चाहेनन्। उनले कुटपिट गरेको अस्वीकार गर्दै उल्टै दुवैजनाले कार्यालयमा आएर अराजकता देखाएपछि प्रहरीले समातेर लगेको दाबी गरे। 

त्यही घटनालाई अदालतसम्म लैजान सघाएका बस्नेतसँग पनि फागो आक्रोशित थिए । फागोले सार्वजनिक कार्यक्रममा बस्नेतले संचालन गरेको त्रिकाल फाउण्डेशनको आलोचना गर्दै आएका थिए ।

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया