देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : 'वर्ष २०७८ सफल, अब हिंसाको राजनीति देशमा छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ सफल वर्षको रुपमा रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विविध अवरोधका बीच पनि गएको वर्ष सफल रहेको बताए । 

२०७६ मा विखण्डनकारी राजनीतिको अन्त्य गरेको सरकारले २०७७ मा हिंसा युक्त राजनीतिको पनि अन्त्य गरेको बताए । मूलधारबाट भड्किएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउन आफूहरु सफल भएको उनको भनाइ छ । 

अब देशमा संविधान सर्वमान्य, सर्वस्वीकार्य बन्ने अवस्था रहेको पनि प्रधानमन्त्री ओलीले बताए । विप्लवहरु मूलधारमा आएसँगै अब देशमा हिंसाको राजनीति सकिएको र देशमा शान्तिको वातावरण बनेको भन्दै ओलीले अब नेपालमा हिंसाको राजनीति नहुने बताए । 

प्रधानमन्त्री ओलीले विकास निर्माणको कामका लागि गएको वर्ष २०७७ सफल रहेको बताए । उनले कोरोना महामारीका बीचमा पनि गएको वर्ष विकास निर्माण र सरकारको कामका आधारमा सफल रहेको उल्लेख गरे । 

महामारी र विभिन्न अवरोधका बीचमा पनि आफूहरु जनतासँगै रहेको भन्दै ओलीले यस मामिलामा पनि आफूहरु सफल रहेको बताए । ओलीले भने, 'जनताको मत नै सबैभन्दा मुख्य कुरा हो । यसमा हामीले ठूला सफलता प्राप्त गरेका छौँ ।'



भौतिक संरचना र पूर्वाधार तथा पुनर्निर्माणमा वर्ष २०७७ मा सरकारले राम्रो सफलता हात पारेको प्रधानमन्त्री ओलीको दावी छ । सम्बोधनका क्रममा ओलीले भने, 'हाम्रो आफ्नै संसद भवन थिएन । गत वर्ष नै हामीले संसद भवनको निर्माण अगाडि बढाएका छौँ ।'

प्रधानमन्त्री ओलीले यसबीचमा आफूहरुलाई असफल देखाउन र जनतामा आफ्नो नकारात्मक छविको विकास गर्नका लागि केही व्यक्ति तथा समूह लागिपरेको पनि बताए । सरकारले गरेका कामहरु सबै ढाक्ने तर अफवाहलाई प्रचारमा ल्याएर जनतामा बदनाम गराउन उनीहरु लागिपरेको उनको भनाइ छ । 



प्रधानमन्त्री ओलीले भने, 'केही व्यक्ति तथा समूह सरकारले केही काम नगरेको झैँ देखाउन अफवाहमा लागेका छन् । तर, सरकारले काम गरिरहेको छ । हामीले पूर्वदेखि पश्चिमसम्म नदी करिडोर, लिंक रोड तथा उत्तरदक्षिण राजमार्गहरु बनिरहेका छन् ।' 

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार ८:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया