अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा तीनवटा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । महोत्सवको यो वर्षको संस्करणमा लाटो कोसेरो, सरिता (११ वर्ष) र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धामा छनोट भएका आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
महोत्सवका लागि विश्वका ५२ देशबाट ४५० चलचित्र सहभागी भएका थिए । जसमध्येबाट ३१ देशका ६३ चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छानिएका थिए । अब नेपालीसहित महोत्सवमा ६६ फिल्म देखाइनेछ ।
महोत्सवमा प्रतिस्पर्धामा छानिएका ३ नेपाली फिचर फिल्म मध्ये उत्कृष्ट एकले १ लाख नगद सहित ट्रफी, उत्कृष्ट निर्देशक, छायांकार, अभिनेता र अभिनेत्रीले ट्रफी पाउने छन् ।
‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको यो वर्षको संस्करणमा महामारीका विषयमा निर्माण भएका चलचित्रलाई अलग्गै विधामा राखेर प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । कोरोनाले पारेको प्रभावका विषयमा बनेका चलचित्रलाई ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । अन्तरराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर सहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बागमती अवार्ड यथावत प्रदान गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सव वैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।