सत्ता कब्जा गर्न खोज्‍नेहरुको कब्जा, किला, काँटी सबै खुस्कियो : प्रधानमन्त्री
प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भन्‍न थालेको जिकिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोज्नेहरू पराजित भएको बताएका छन्। द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले प्रधानमन्त्री हुन नपाएपछि केही मानिसहरु प्रतिगमन भयो भन्दै आँगनमा निस्किएर कराएको ओलीले बताए।

'एकथरी मान्छेहरु प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउँछन्, स्याल हुइँया चलाउँछन्', उनले भने, 'लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने अनि प्रतिगमन भन्ने? आफूले ध्वस्त पार्न खोज्ने अनि नसकेपछि प्रतिगमन भयो भनेर हल्ला चलाउने शाब्दिक क्रान्तिकारीहरु नामका वामपन्थी कामका दक्षिणपन्थी हुन्।'

उनले सत्ता कब्जा गर्दा गर्दै नेताहरुको कब्जा, किला खुस्किएको उनले बताए। 'सत्ता कब्जा गर्दा गर्दै कब्जा, किला, काँटा सबै खुस्कियो। सत्ता कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्छन्', उनले भने, 'म भए त कम्फरटेबल हुन्छ भन्दै छिमेकी गुहार्छन्। आफ्नो पार्टी फुटाएर अर्को पार्टीकहाँ धाइरहेछन्। देख्नु भएन शेरबहादुर देउवाजीकहाँ  धाइरहेका ?' 

ओलीले तत्कालीन गृहमन्त्री भीमबहादुर रावलप्रति कटाक्ष गरे। उनले आफूले पद नपाएपछि मानिसहरु बोली बिग्रिएको बताए। 'केही मानिसले बोलेको सुन्दा, केही  मानिसले हामीबारे टिप्पणी गरेको सुन्दा अचम्म लाग्छ', उनले भने, 'जुन मान्छे आफू गृहमन्त्री हुँदा पटापट गोली हानेर मान्छे मार्थे, उनै आज अधिनायकवाद भयो भनिरहेका छन्। जो मान्छे सभामुख हुँदा कालापानीबारे छलफललाई हटाइदिए। आज उनी बन्दैछन् राष्ट्रवादी।'

उनले देशबाट भागेर गएका राजा त्रिभुवनलाई फर्काएर गद्दीमा राख्नु गल्ती थियो भने। 'भागेका राजालाई किन काँधमा बोकेर फर्काइयो? आज पनि सहिद गेटमा १९९७ सालमा त्रिभुवनले मार भनेर सही गरेका सहिदहरुको सालिक तल छ तर त्रिभुवनको सालिक माथि छ', उनले भने, 'लोकतन्त्र स्थापित गर्नेबित्तिकै केही मानिसहरुको आन्दोलनपछि सालिक २०६३/६४ मा हटाइयो। त्यही भएर लैनचौरमा शहीद दिवस मनाउन थालिएको छ।'

उनले राजा फर्काएको बारे प्रश्न गर्ने केआई सिंह र रामप्रसाद राईहरूको हत्या गरिएको पनि स्मरण गरे। उनले शासन सुधारका लागि प्रश्न उठाउँदा भीम दत्त पन्तहरुलाई भारतीय सेना बोलाएर हत्या गरिएको बताए। 





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १६:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया