कोरोनाको चपेटामा बालबालिका, कान्ति अस्पतालमै दुईजनाले ज्यान गुमाए

पछिल्लो दुई सातायता कोरोनाको नयाँ भेरियन्टबाट बालबालिकामा संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई सातायता दैनिक ८ देखि १८ प्रतिशतसम्म बालबालिकालाई कोरोना भइरहेको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार केही दिनयता दैनिक संक्रमितमध्ये ८ देखि १८ प्रतिशतसम्म बालबालिकालाई कोरोना पोजेटिभ भइरहेको बताए। कान्ति बाल अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाका अनुसार बालबालिकाको इम्युनिटी पावर कमजोर हुने भएकाले कोरोनाबाट उनीहरु चाँडै गम्भीर बिरामी हुने अवस्था छ।

'दुई हप्तादेखि कान्ति बाल अस्पतालमा कोरोना संक्रमित बालबालिका बढिरहेका छन्। दैनिक संक्रमित हुनेमध्ये औसतमा १० देखि १८ प्रतिशतसम्म बालबालिका छन्', उनले भने, 'अझै खतरनाक मानिएको बेलायती भेरियन्टले बालबालिकालाई सताइरहेको छ। १८ वर्षमुनिकामा संक्रमण दर धेरै छ। यो हाम्रा लागि अलिक डरलाग्दो कुरा पनि हो।'

बुधबार मात्रै थपिएका ६०३ जना संक्रमितमा ८.७ प्रतिशत बालबालिका रहेको उनले बताए। 'अहिले  बालबालिकाको स्कुल चलिरहेको छ। अघिल्लो साल सबै बन्द भएकाले जोखिम कम थियो। तर अहिले विद्यालय संक्रमण फैलिने मास ग्यादरिङका रुपमा रहेको छ', उनले थपे, 'बालबालिकाको इम्युनिटी पावर कम हुन्छ। कान्ति अस्पतालमै दुई सातामा कोरोना संक्रमित २२ जना बच्चाहरु भर्ना भएका छन्। जसमा दुईजना बच्चाले त ज्यान नै गुमाइसकेका छन्।'

तर निर्देशक बिच्छाले ज्यान गुमाएका ती बालबालिकाबारे विस्तृतमा केही बताएनन्। भर्ना भएका २२ मध्ये २० जना चाहिँ निको भइसकेको जानकारी उनले दिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारदेखि बुधबारसम्म १३ हजार ५६ कोरोना परीक्षण भएको छ। देशभर सक्रिय संक्रमित ४०५६ जना रहेका छन्। आज मात्रै ४२ सय ८९ को पिसिआर र ४५१ को एन्टिजेन परीक्षण भएको छ। जसमा ५८० जना पिसिआरबाट पुष्टि भएको छ भने २३ जना एन्टिजेनबाट पुष्टि भएको छ।



त्यस्तै आज भक्तपुरमा २० जना, ललितपुरमा ६१ जना र काठमाडौं जिल्लामा १७३ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्। 



  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १७:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया