रमजान पर्व के हो र किन मनाइन्छ  ?

मुस्लिम समुदायको रमजान पर्व देशभरि आजदेखि सुरु भएको छ । हिजो साँझको चन्द्रमा हेरेपछि विधिवत रूपमा रमजान सुरु भएको हो ।

चन्द्रमा हेरेर सुरु हुने यो पर्व एक महिनापछि फेरि चन्द्रमा हेरेर नै समापन हुन्छ । मंगलबार रातिदेखि सूर्योदयभन्दा पहिला सेहरी (रातिमा खाना) खाएर इस्लाम धर्मावलम्बीले यो पर्वको सुरुवात गरेका छन् ।

देशभरिका इस्लाम धर्मावलम्बीहरू रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्छन् । रोजा बस्दा दिनमा कुनै पनि खाद्यपदार्थ सेवन गर्न नपाइने मान्यता छ ।
रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमजानमा खासगरी नाबालकबाहेक मुस्लिम समुदायका सबै स्वस्थ महिला-पुरुष एक महिने रोजा बस्छन्, जसले गर्दा यो पर्वलाई धार्मिक उत्सवका रूपमा मनाउने गरिन्छ । 

के हो रमजान ?

रमजान या रमदान इस्लामिक महिनाको नाम हो । इस्लामी क्यालेन्डर अनुसार क्रमशः मुहरम, सफर, रबी अल-अब्बल, रबी अल-थनी, जुमाद अल-उला, जुमाद अल-थनी, रज्जब, सआबान, रमजान, शौवाल, धूअल-किदाह र धुअल-हिज्जाह यी १२ महिना रहेका छन् । यसरी हेर्दा रमजान नवौं महिना हो ।

धार्मिक मान्यताअनुसार नवौं महिना रमजानमा मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो । यही कुरानमा रोजाको चर्चा गरिएको छ । यहाँ नै मुस्लिम समुदायले रोजा बस्नुपर्ने अनिवार्य गरिएको छ ।



अंकका हिसाबले पनि ९ पूर्ण अंक हो । मानव जीवनमा यही पूर्णता प्राप्तिका लागि पनि व्रत बस्ने गरेको पाइन्छ ।

यो महिनामा धार्मिक ग्रन्थ कुरान वाचन गर्नु बढी पुण्य मानिन्छ । रोजाको समयमा पाँच पटकको नमाजका अलावा एउटा विशेष नमाज पनि पढिन्छ । जसलाई ‘तराविह’ को नमाज भनिन्छ । जसमा कुरान पढेर सबैलाई सुनाइन्छ । कुरान पढ्न नआउनेहरूले पनि यो समय कुरान सुनेर पुण्य कमाउने अवसर मिल्ने आस्थावान व्यक्तिहरू बताउँछन् । 



एक महिना किन ?

यो पर्व एक महिने व्रत हो । धार्मिक ग्रन्थका आधारमा अल्लाह (भगवान) ले नै एक महिना व्रत बस्न हुकुम (आदेश)  दिएको बुझिन्छ । अल्लाहले कुरानमार्फत् एक महिना व्रत बस्ने आदेश दिएको जानकारहरू बताउँछन् । यो आदेश कुरानको सुरा-ए-बक्रराहको आयात नम्बर १८५ मा दिइएको छ । त्यही कारणले रमजान पर्वमा एक महिना व्रत बस्ने गरेको बताइन्छ ।

रोजाको अर्थ 

रोजा फारसी शब्द हो । यसलाई नेपालीमा उपवास भनिन्छ । अरबीमा उपवासलाई भने माह-ए-सियाम पनि भनिन्छ । रमजानको महिना कहिले २९ दिन त कहिले ३० दिनको हुन्छ । नेपाल र भारतको मुस्लिम समुदायमा फारसी प्रभाव बढी परेकाले उपवासको फारसी शब्द रोजा नै बढी प्रयोग हुने गर्छ । 

रोजा किन ?

मुस्लिम समुदायको रमजान महिनामा रोजा बस्नु कर्तव्य (फर्ज) हो । रमजान इस्लाम धर्मको पाँच पिल्लरमध्ये एक हो । यसको पाँच पिल्लरमा कल्मा (श्लोक), नमाज, रोजा, जकात र हज पर्छन् । अर्थात् रोजा गर्नैपर्ने काम हो । 

यो व्रत बस्नाले जन्नत (स्वर्ग) प्राप्ति हुने धार्मिक मान्यता छ । अर्को शारीरिक रूपमा पनि यसको धेरै फाइदा रहेको बताइन्छ । मुख्यतः व्रतको समयमा जाड रक्सी, चोरी, चुरोट, सुर्ती जस्ता पदार्थ सेवन गर्नु वर्जित गरिएको छ । एक महिनाको लामो व्रतमा कुलतहरू छुट्ने सम्भावना बलियो देखिन्छ । रमदान महिनाको मुख्य उद्देश्य भनेको निराहार व्रत बसी सधै अनुशासित ढंगबाट जीवन बिताउनु हो । 

चन्द्रमा (चाँद ) किन हेरिन्छ  ?

चन्द्रमालाई हेरेर सुरु गरिने यो पर्व चन्द्रमालाई हेरेपछि नै अन्त्य गरिन्छ । यसो गर्नुको रहस्य के हो ? धेरैका मनमा प्रश्न आउने गर्छ । इस्लामिक क्यालेन्डर चन्द्रमाको गति अनुसार बनाइएको हुन्छ । मुस्लिम परम्परामा समयको गतिलाई मापन गर्ने आधार चन्द्रमा नै हो ।

चन्द्रमा शीतलता र उज्यालोका स्रोत पनि हुन् । कुरान अनुसार शान्त, धीर र गम्भीर मुस्लिम धर्म अनुयायीका गुण हुन् । मानवमा पनि चन्द्रमाकै जस्तो दोष पक्षलाई मेट्दै गुण पक्ष प्रकाशित होस् भन्ने हेतुले यो पर्व मनाइएको विश्वास गरिन्छ ।

रोजा क-कसले गर्ने ?

धार्मिक मान्यताअनुसार बालिग व्यक्तिका लागि रोजा अनिवार्य गरिएको छ । महिला रजस्वला भएपछि र पुरुषमा स्वप्नदोष भएपछि बालिग भएको मानिन्छ । यसलाई आधार मान्दा १३ वर्षको उमेरसँगै मुस्लिम बालबालिकाहरू रोजा बस्नुपर्छ ।

दीर्घ रोगी, सिकिस्त बिरामी र गर्भवतीका लागि भने यो अनिवार्य गरिएको छैन । रजस्वला भएका महिलालाई पाँच दिनसम्म छुट दिइएको छ । यसैगरी यात्रा गर्दा बिरामी भएको अवस्थामा पनि रोजा बस्न अनिवार्य गरिएको छैन । रोजा प्रारम्भ गरेपछि कुनै कारणबस बीचैमा छुट्यो भने आफूलाई पायक पर्ने महिनामा व्रत बसेर सट्टा भर्ना गर्ने नियम छ ।

के हो सेहरी र इफ्तार ? 

सेहरी र इफ्तार यी दुई अरबी शब्द हुन् । यसलाई सामान्य भाषामा बुझ्ने हो भने उपवासको दिन अर्थात् सूर्योदय भन्दा पहिला केही खाइन्छ, जसलाई सेहरी भनिन्छ । यसैगरी सूर्यास्त भएपछि केही खाएर व्रत तोडिन्छ, जसलाई इफ्तार भनिन्छ । 

शारीरिक सम्बन्ध राख्न नपाइने

रमजान मुस्लिम समुदायका लागि पवित्र महिना हो । यो महिनामा सबैले अल्लाहको विशेष प्रार्थना गर्छन् ।

रमदान अवधिभर कुरान र नमाज पढ्दा अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य आर्जन हुने जनविश्वास छ । तसर्थ धेरै समय निकालेर अधिकांशले कुरान र दिनमा पाँचपटक नमाज पढ्ने गर्छन् ।

व्रत मात्रै बसेर यो पर्व पूर्ण भएको मानिँदैन । यो समयमा बढी धार्मिक गतिविधि नै सक्रिय रहन सबैलाई आग्रह गरिन्छ । व्रत बस्नेहरू यो अवधिमा अश्लिल गफ मात्रै नभई नाचगानसहित कुनै पनि मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन नपाइने नियम छ । यतिमात्र नभई यो अवधिभरि दिनमा श्रीमान-श्रीमतीबीच शारीरिक सम्बन्धसमेत राख्न नपाइने नियम छ । रोजामा बर्जित गरिएका काम भएमा रोजा भंग हुन्छ । रातमा सम्बन्ध भएमा नुहाएर शुद्ध (पाक) हुनुपर्छ । 

दान-पुण्यको पर्व

रोजा बस्नेहरू यो समयमा दीन-दुःखीलाई खाना खुवाउने, लत्ता कपडा दिने तथा आर्थिक सहयोग समेत गर्छन् । 

मुस्लिम समुदायमा यो महिनालाई दान-पुण्य गर्ने महिनाका रूपमा लिइन्छ । यो महिनामा अरूलाई सहयोग गरे त्यसको ७० गुणा बढी पुण्य पाइने धार्मिक मान्यता छ । यो महिनामा अझ रोजादार (व्रतालु) लाई इफ्तार गराए गुनाह (पाप) बाट छुटकारा पाउने विश्वास छ ।

यसका लागि रमदानमा जकात, सदका, फित्रा भनेर केही रकम निकाल्ने चलन छ । जसका लागि वर्षभरिमा आफूले कमाएको सम्पत्तिबाट कम्तीमा साढे २ प्रतिशत रकम दान दिने चलन छ । रमजानको अन्तिमको दिन इ-दुल-फित्रको नमाज पढेर यसको समापन गरिन्छ । जसलाई चलनचल्तीको भाषामा ईद पनि भनिन्छ ।

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १८:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया