अविश्वास प्रस्ताव जसरी आउँछ, त्यसरी सामना गर्छु : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट अधिवेशन आउने बेला भइसकेकोले अहिलेको अधिवेशन अन्त्य गरिएको बताएका छन् । फरकधारसँगको संक्षिप्त कुराकानीका क्रममा मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य भएको बताएका हुन् । 

‘बजेट अधिवेशन आउने बेला भइसक्यो अब किन राख्नुपर्यो र ?’ संक्षिप्त कुराकानीका क्रममा गुरुङले भने । 

आफूविरुद्ध अविश्वास प्रस्ताव आए त्यसको जसरी आउँछ, त्यसरी नै सामना गर्ने गुरुङको दावी छ । उनले भने, ‘अहिलेसम्म केही आइसकेको छैन् । अब जसरी आउँछ, त्यसरी नै त्यसको सामना गरेर अघि बढ्नुपर्यो नि !’

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि त्यसअघि नै संसद अधिवेशन अन्त्य गरिएको हो । बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो । 

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी, जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव प्रदेश सभामा लैजाने तयारी भएको थियो ।

त्यसअघि नै अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख कार्यालयमा बिहीबार बिहानै दर्ता भएको छ । पत्र बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ ।



संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ । मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर, ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा परेको थियो । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत सांसद संख्याको हस्ताक्षर भए पुग्छ । यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको समर्थन जरुरी हुन्छ ।



  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १२:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया