भारतको धार्मिक यात्राबाट फर्केका पत्रकारको कोरोनाबाट मृत्यु

भारतमा धार्मिक यात्रा गरेर फर्किएका एकजना पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोभिड-१९ सङ्क्रमण भएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका झापाका पत्रकार कमल मिश्रको बुधबार राति निधन भएको हो। 

पत्रकार मिश्रको ४८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। भारतको धार्मिक यात्राबाट फर्किए लगत्तै बिरामी भएका उनलाई कोभिड भएको खुलेको थियो। उनको शवलाई नेपाली सेनाले व्यवस्थापन तयारी गरेको छ।

दाजु लोकनाथ मिश्रले शव झापास्थित घर लैजाने परिवारको इच्छा भए पनि कोभिडका कारण सरकारले अनुमति नदिएको बताएका छन् । मिश्रको शव आजै नेपाली सेनाले व्यवस्थापन तयारी गरेको छ। ‘नेपाली सेनाको टोलीले दाहसंस्कारका लागि लाने भनेका छन्’, लोकनाथले भने,‘मैले अनुहार चाहिँ हेर्न पाएँ ।’

सेनाले शव व्यवस्थापन गरेपछि काजक्रिया झापामै गर्ने उनले बताए। एक दशकयता पत्रकार कमल मिश्र भक्तपुरको राधे राधे धार्मिक संस्थामा आध्यात्मिक जागरणमा सक्रिय थिए। उनी झापामा रहँदा जनआन्दोलन साप्ताहिकका संस्थापक सम्पादक थिए । झापाको वामपन्थी राजनीति, पत्रकारिता र मानव अधिकारका क्षेत्रमा उनको योगदान थियो।

उनका पत्नी र तीन छोरी छन् । दश वर्षे जनयुद्धका बेला सघाउने क्रममा उनी भारतमै पक्राउ परेका थिए। त्यसबेला हिरासतमा यातना दिइँदा उनको एउटा आँखाको ज्योति पनि गुमेको थियो ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १५:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया