नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगका लागि धनगढी एफसीले आइकोनिक खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई अनुबन्ध गरेको छ ।
ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढीले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणलाई आइकोनिक र राष्ट्रिय टिमका पूर्वखेलाडी युगल किशोर राईलाई प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो ।
सफल व्यवसायिक खेलाडीका रुपमा आफूलाई स्थापित गरेका किरणले भारतको राउन्ड ग्लास पञ्जाबबाट आई लिग खेलेका थिए । उनको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारिसकेको छ ।
चैत १० देखि १६ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा उपाधि हात पारेको थियो ।
आई लिगमा उत्कृष्ट गोलरक्षक चुनिएका किरणले एएफसी प्लेयर अफ द विक अवार्ड हात पारेका थिए । यो अवार्ड हात पार्ने किरण एक्ला नेपाली खेलाडी हुन् ।
नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको लिग वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने छन् । धनगढीले वैशाख १२ मा विराटनगर सिटी एफसीसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।