च्याम्पियन्स लिग : सेमिफाइनल समीकरण पूरा

विश्व फुटबलकै प्रतिष्ठित लिगमध्ये एक युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति क्वार्टरफाइनलका खेल सकिएसँगै अन्तिम ४ टोलीको टुंगो लागेको हो । 

लिगको २०२०–२१ सिजनमा स्पेनको रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर सिटी, चेल्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनलमा सिटीले पिएसजीको सामना गर्दा, रियल र चेल्सी आमने–सामने हुनेछन् । 

४ टोलीको हालसम्मको प्रदर्शन 

रियल मड्रिड



मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली हो । उसले हालसम्म १३ पटक लिग उपाधि उचालिसकेको छ । 

रियलले समूह चरणका ६ खेलमा ३ जित १ हार र २ बराबरीको नतिजासहित समूह ‘बी’बाट विजेताको रूपमा अन्तिम १६मा स्थान बनाएको हो । 



अन्तिम १६मा इटालियन क्लब एटलान्टालाई समग्रमा ४–१ पराजित गरेको रियलले पहिलो लेग १–० र दोस्रो लेग ३–१ ले आफ्नो पक्षमा पार्यो । 

क्वार्टरफाइनलमा इंग्लिस क्लब लिभरपुरलाई समग्रमा ३–१ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको रियलले पहिलो लेग ३–१ले आफ्नो पक्षमा पर्दा दोस्रो लेग गोलरहित बराबरी खेल्यो ।
 
यो सिजन रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी करिम बेन्जिमा हुन् । उनले रियलका लागि ५ गोल गरेका छन् । 

रियल गत सिजन म्यानचेस्टर सिटीसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको थियो । 

चेल्सी

चेल्सीले हालसम्म मात्र १ पटक च्याम्पियन्स लिग उपाधि हात पारेको छ । ऊ सन् २०११–१२ सिजनको च्याम्पियन बनेको थियो ।
 
चेल्सीले समूह चरणका ६ खेलमा ४ जित र २ बराबरीको नतिजासहित समूह ‘ई’को विजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो ।

अन्तिम १६ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि समग्रमा ३–० को जित निकालेको चेल्सीले पहिलो लेग १–० र दोस्रो लेग २–० ले आफ्नो पक्षमा पारेको थियो । 

क्वार्टरफाइलमा पोर्चुगिज क्लब एफसी पोट्रोलाई समग्रमा २–१ ले हराउँदै सेमिफाइन प्रवेश गरेको चेल्सीले पहिलो लेग २–० जित्दा दोस्रो लेग १–० ले गुमाएको थियो ।

ओलिभर जिरुढले यो सिजन चेल्सीका लागि सर्वाधिक ६ गोल गरेका छन् । 

चेल्सी गत सिजन वायर्न म्युनिखसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको थियो । 

 पेरिस सेन्ट जमर्न (पिएसजी)

पिएसजी पहिलोपटक च्याम्पियन्स लिग उपाधि हात पार्ने प्रयासमा हुनेछ । उपविजेतामा हुनु उसको लिगमा हालसम्मको उच्च प्रदर्शन हो । 

पिएसजी समूह चरणका ६ खेलमा ४ जित र २ हारको नतिजासहित समूह ‘एच’को विजेता हुँदै अन्तिम १६ मा पुगेको थियो । 

उसले अन्तिम १६ मा स्पेनिस महारथी बार्सिलोनालाई समग्रमा ५–२ ले पारजित गर्यो । पहिलो लेग ४–१ ले जितेको पिएसजीले दोस्रो लेगमा १–१ को बराबरी खेल्यो ।

क्वार्टरफाइनलमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिखसँग ३–३ को बराबरी खेले पनि अबे गोलको फाइदा उठाउँदै सेमिफाइनल पुगेको पिएसजीले पहिलो लेग ३–२ ले आफ्नो पक्षमा पार्दा दोस्रो लेग १–० ले गुमाएको थियो । 

केलियन एमबाप्पे यो सिजन पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले हालसम्म ८ गोल गरेका छन् । 

पिएसजी गत सिजनको फाइनलमा जर्मन क्लब वायर्न म्युनिखसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

म्यानचेस्टर सिटी

सिटी पनि पहिलो च्याम्पियन्स लिग उपाधिको खोजीमा छ । उपविजेता हुनु सिटीको हालसम्मको उच्च प्रदर्शन हो । ऊ सन् २०१५–१६ को सिजनमा उपविजेता बनेको थियो । 

सिटीले समूह चरणका ६ खेलमा ५ जित र १ बराबरको नतिजासहित समूह ‘सी’को विजेता हुँदै अन्तिम १६ मा बनाएको हो ।

उसले अन्तिम १६ मा जर्मन क्लब बेरुसिया मोन्चेनग्लाडबाचलाई समग्रमा ४–० ले पराजित गरेको थियो । सिटीले पहिलो र दोस्रो लेगमा समान २–० जित हात पार्यो ।

क्वार्टरफाइनलमा जर्मन क्लब बेरुसिया डर्टमन्डलाई समग्रमा ४–२ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको सिटीले पहिलो लेग र दोस्रो लेग समान २–१ ले आफ्नो पक्षमा पारेको थियो । 

फेरान टोरेसले यो सिजन सिटीका लागि सर्वाधिक ४ गोल गरेका छन् । 

सिटी गत सिजन फ्रेन्च क्लब लायोनसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । 

(एजेन्सीकाे सहयाेगमा)

  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १७:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया