नयाँ वर्षको पहिलो दिन नेप्सेमा साढे आठ अर्बको कारोबार

२०७८ सालको पहिलो कारोबार दिनमा नेप्से परिसूचक २०.६७ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबारको दिन अर्थात चैत्र ३१ गते मंगलबार २३.२३ अंकले वृद्धि भएर २७१४.७९ बिन्दुमा पुगेको नेप्से परिसूचक यस दिन भने २०.६७ अंकले वृद्धि भएर २७३५.४६ अंकमा बजार बन्द भएको छ । 

नयाँ वर्षको पहिलो कारोबारकै दिन नेप्सेले नयाँ अल टाइम हाई रेकर्ड बनाएको छ । नेप्से परिसूचक बढेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ । गत मंगलबार ७ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज बजारमा २१८ कम्पनीको ९५ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । नयाँ वर्षमा नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएका कारण लगानीकर्ताहरुमा उत्साह छाएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने बाँकीका २ उपसमूहको सूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ । त्यसैगरी, लगानी उपसमूहको परिसूचक यस दिन १.५७ प्रतिशत र बैंकिङ उपसमूहको १.२२ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक २.५३ प्रतिशत घटेको छ । 

त्यस्तै, बिहीबार ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बेष्ट फाइनान्स कम्पनी, एनआइसी एसिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएका मल्टिपर्पस फाइनान्स, नेसनल माइक्रोफाइनान्स र समिट माइक्रोफाइनान्सको सेयरमूल्य भने यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १७:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया