मधेसी सहिद प्रतिष्ठान गठन गर्ने प्रदेश २ सरकारको निर्णय
थप १० दिन सार्वजनिक बिदा

प्रदेश नम्बर २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सहिद परिवार, घाइते तथा अपाङ्ग भएकाहरुका लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो ।
 
२०६३ सालदेखि मधेसको अधिकार प्राप्तिका लागि भएको आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरुका परिवार, घाइते भई अपाङ्ग भएकाहरुको सामाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गर्न लागिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने निर्देशक समितिले प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव तथा मधेसी सहिद परिवारमध्ये एकजना महिलासहित दुईजना सदस्य र कार्यकारी निर्देशक सदस्य सचिव रहने मन्त्री यादवले बताए । सहिद परिवारबाट दुईजना सदस्यको मनोनयन निर्देशक समितिका अध्यक्षले गर्नेछन् ।

प्रतिष्ठानले सहिद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नति आदिसम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, सहिद पार्क निर्माणका लागि स्थानको छनोटलगायत पीडितलाई लक्षित गरी रोजगारमूलक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले जानकारी दिए ।

प्रदेश सरकारले रामनवमी, कृष्णाजन्माष्टमी, छठ पर्व, विवाहपञ्चमी, मोहम्मद डे, इद, बकरइद, बलिदानी दिवस (मधेस सहिदहरुको स्मृति दिवस), जुडशित्तल, होली (होलीको भोलिपल्ट), जानकी नवमीमा थप बिदा दिने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीको पठनपाठन प्रारम्भ गर्नका लागि ९ करोड ३२ लाख १० हजार अनुदान दिने निर्णय गरिएको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २०:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया