बागमती प्रदेशसभा : माओवादी अवरोधपछि फेरि स्थगित
सरकारको चर्को आलोचना

बागमती प्रदेशसभाको बैठक फेरि अवरुद्ध भएको छ । पटक–पटक संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले बिहीबारको बैठक पनि अवरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । 

माओवादी केन्द्रका सांसदहरुले विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टरलगायत पूर्वाधार निर्माण हुनुपर्नेलगायत विषयमा सरकारको जवाफ मागे पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै संसद बैठक अवरुद्ध गरेका हुन् । 

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले दिएका थिए । सांसद बुद्धिमान माझीले सरकारलाई रचनात्मक सुझाब दिँदा पनि सरकार निरंकुश ढंगबाट चल्न खोजेको बताएका थिए । 

त्यसलगत्तै माओवादीका सांसद उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले बस्नका लागि अनुरोध गरे पनि माओवादी सांसदले अवरोध कायमै राखेपछि श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । 

संसदबाट भागेर, डण्डा चलाएर सत्ता टिक्दैन : माओवादी 

बिहीबार अवरोध हुनुअघि बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले संसदबाट सरकार भाग्न खोजेको आरोप लगाएका छन् । उनले सबै कुरामा हात हाल्न खोज्ने तर काम गर्न नसक्ने भन्दै सरकारको आलोचना गरे । भीमफेदी–कुलेखानी सुरुङ मार्गको विषयमा बोल्दै उनले पूर्वाधार विकास कम्पनीले खाएको पैसामा प्रदेश सरकार चुँ पनि नबोलेको आरोप लगाए । 



पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका जमरकट्टेलले  सुरुङमार्गका लागि मकवानपुरका जनताको थुप्रै पैसा फसेको भन्दै प्रदेश सरकार यसमा मौन रहेको आरोप लगाए । उनले जनताको पैसा उठाएर दिन अनि मात्रै सुरुङ निर्माणको काम सुरु गर्नुपर्ने बताए । विद्युतीय बसका लागि आवश्यक पूर्वाधारविना बस खरिद गर्ने कुरामा सहमत हुन नसक्ने भन्दै उनले भने, ‘संसदबाट भागेर, बलमिच्याइँ गरेर सरकार चल्दैन । डण्डा चलाएर सत्ता चलाउनेको इतिहास सम्झन प्रदेश सरकारले आवश्यक छ ।’ पूर्वाधारविना बस खरिद गरेर कसलाई पोस्न खोजेको हो ? भन्दै उनले प्रश्न गरे ।  
 
सरकार चुनावलाई खर्च जोगाउनेतर्फ लाग्यो : बानियाँ 

यस्तै, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले बिहीबारको बैठकमा बोल्दै सरकार पैसा कमाउने तरखरमा लागको आरोप लगाएका छन् । उनले भने, ‘सरकार र सरकारका आसेपासे कसरी हुन्छ, अब हुने चुनावका लागि चाहिने खर्च जम्मा गर्नेतर्फ लागेका छन् ।’



सरकारले अन्य दल र संसदबाट भागेर सुटुक्क आफूनिकट सांसदको क्षेत्रमा, ठूला ठेकेदारको सेटिङमा पैसा कमाउने गरी योजना सञ्चालन गर्न खोजेको आरोप लगाए ।

उनले ०७७ साल जनताको लागि निराशाको वर्ष रहेको बताउँदै अबको वर्ष राजनीतिक सहमतिको वर्ष बन्नुपर्ने भन्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । निराश भएका जनताको मन मस्तिष्कमा उत्साह जगाउन जनप्रतिनिधिहरुले काम गर्नुपर्ने उनले बताए । 

विवेकशील साझाका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाईं, राप्रपाकी रिता माझी, रिना गुरुङलगायतले संसद बैठकबाट सरकार भागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २१:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया