इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका खेलबाट उनीहरु लिगको अन्तिम चारमा पुगेका हुन् ।
बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युनाइटेड ग्रानडालाई २–० ले पराजित गर्यो । यससँगै समग्रमा ४–० गोल अन्तरको जित निकाल्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा एडिन्सन काभानीको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । पाउल पोग्बाको पासमा काभानीले खेलको छैटौँ मिनेटमा गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा जेसस भालेजुले आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।
यता, स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै आर्सनलले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
दोस्रो लेगमा आर्सनलको सानदार जितमा एलेसान्द्रे लाकाजेटले दुई तथा निकलस पेपे र बुकायो साकाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।
युरोपा लिगकै अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आर्सनलसँगको भेट पक्का गरेको छ । इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
अब सेमिफाइनलमा आर्सनल र भिल्लारियल तथा म्यानचेस्टर युनाइटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु ३० अप्रिल र ७ मेमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।