अमेरिकाले रुसमाथि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको छ । लामो समयदेखि दुई देशबीचको सम्बन्धमा रहेको चिसोपनको असर स्वरुप अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाले रुसी अधिकारीहरुलाई निष्कासित गर्दै रुसका कम्पनीहरुलाई समेत प्रतिबन्ध लगाएको छ । उसले सर्वभौम ऋण बजारमा रुसी बैंकको ऋणपत्रसमेत खरिदबिक्री नगर्ने गरी रोकेको छ ।
अमेरिकाले रुसमाथि साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार तथा युक्रेनलाई धम्क्याएको भन्दै प्रतिबन्धको घोषणा गरेको हो । सोही कारण अमेरिकाले रुसी संस्था र अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको समाचार संस्था रोयटर्सले लेखेको छ ।
अमेरिकाले गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसको समेत हात रहेको आरोप लगाएको छ । सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको अमेरिकाले दावी गरेको छ ।
अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएसँगै अन्य देशहरुले त्यसको समर्थन गरेका छन् । रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकी कदमको युरोपेली संघ, नेटो र बेलायतले समर्थन गरेका छन् ।
अमेरिकी प्रतिबन्ध लागेसँगै रुसले अमेरिकाले लगाएको आरोपहरु गलत भएको भन्दै अस्वीकार गरेको छ । विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत प्रतिबन्ध लगाउने अमेरिकी घोषणाले अब तनाव बढाउने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।