नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको आरोप लगाएका छन्।
बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताको शुक्रबार राजधानीमा उद्घाटन गर्दै प्रचण्डले राष्ट्र प्रमुख नै राष्ट्रहित विपरीतका गतिविधिमा लागेको खबर आएको भन्दै त्यसलाई दु:खद भनेका हुन्।
‘अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सिमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ', उनले भने, 'जनताको बलिदानबाट आएको परिवर्तन हो यो ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए। 'अस्ति भर्खरै जवरजस्ती संसद विघटन गरियो । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन भयो', उनले भने, 'त्यसविरुद्ध लाखौँ मानिस सडकमा उत्रिए। सबै बौद्धिक तप्का र विज्ञहरु विरोधमा गएपछि अन्तत: अदालतले पनि पुन:स्थापनाको निर्णय गरेर एउटा वातावरण बन्यो। तानाशाही शक्ति परास्त भए तर पूरै हारिसकेका छैनन्।’
अध्यक्ष प्रचण्डले जित अन्तत: जनताकै हुने बताउँदै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । ‘देशलाई बन्धकी राख्ने राष्ट्रिय हितविपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुख नै लागेको खबर सार्वजनिक भइरहेको छ। यसले नेपाल र नेपाली जनताको आत्मसम्मानमा प्रश्न खडा गर्ने अवस्था आएको छ', उनले भने, 'तर नेपाली जनतालाई यो स्वीकार्य छैन । जतिसुकै गरेपनि जित सत्य र न्यायको हुन्छ।’
खेलकुदको विकासका लागि नेपाल उपयुक्त भूगोल र वातावरण भएको देश भएको उनले बताए। ‘खेल क्षेत्रको विकासका लागि नेपाल अनुकूल ठाउँ छ । नेपालको इतिहास र संस्कृतिले पनि खेल क्षेत्रले राष्ट्रका लागि राम्रो काम गरेको छ', उनले भने, 'अन्तराष्ट्रिय तथा राष्ट्रिय एकता सुदृढ गर्न, देशको अर्थतन्त्र सवल बनाउन पनि महत्वपूर्ण बन्दै गएको छ।'
प्रचण्डले विश्वमा खेलकुद प्रतियोगिता गराउन धनी देशले अरबौं लगानी गर्ने गरेका सुनाए। 'संविधान र ऐन, कानुन बनाउँदा पनि खेल क्षेत्रलाई विषेश महत्व दिनेगरी बनाइएको छ', उनले थपे, 'इतिहासको चक्कालाई पछाडि फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिबीच अहिले संघर्ष भइरहेको छ। अग्रगमनमा लाग्न म खेलाडीलाई समेत आव्हान गर्छु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।