ओलीलाई सांसदहरुले भने : फुटेर चुनावमा गए एमाले सिद्धिन्छ, एक सिट पनि जित्दैन
ओलीको जवाफ : सकेसम्म मिलाउँछु, वार्ता गर्न खोज्दैछु

काठमाडौं : सत्तारुढ नेकपा एमालेमा विभाजनको तीव्र अभ्यास भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन्। 

समानान्तर अभ्यासमा रहेका वरिष्ठ नेता  माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई एक्ल्याउने रणनीति अनुसार ओलीले सांसद र केन्द्रीय सदस्यहरूसँगको छलफललाई अघि बढाएका हुन्। 

पछिल्लो समय आफैं, महासचिव ईश्वर पोखरेल र अन्य नेताहरु परिचालित गरेर ओलीले माधव–झलनाथ पक्षमा लागेका नेताहरुलाई तान्ने प्रयास थालेका हुन्। 

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि पुष्पकमल दाहाल प्रचण्डतिर लागेका माधव नेपाल र झलनाथ खनालसँग कुनै हालतमा नमिल्ने अडान लिएका ओलीले सांसद र नेताहरुलाई भने फकाइरहेका छन्। 

ओलीले यसबीचमा माधव नेपाल समूहमा लागेका सांसद जीवनराम श्रेष्ठसहितसँग पनि छलफल गरेको खुलेको छ। यसैबीच ओलीले बिहीबार कर्णाली प्रदेशका तीनजना सांसदसँग बालुवाटारमा संवाद गरेका छन्। 

ओलीले बिहीबार कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरु राजबहादुर बुढा, ध्रुव शाही र पार्वती विसुन्केसँग बालुवाटारमा करिब २० मिनेटसम्म संवाद गरेका छन्। त्यसक्रममा ओलीले आफू पार्टी एकता अभियानमा लागेको भन्दै आवश्यक सुझाव उनीहरुसँग मागेका थिए। 



एकदुई तानेर हुँदैन

ओलीसँगको संवादका क्रममा सांसदहरुले कुनै एक दुई सांसद या नेताहरु तानेर पार्टीको समस्या समाधान नहुने सुझाव दिएका छन्। सांसद बुढाका अनुसार ओलीले पार्टीलाई एकतावद्ध भएर लैजाऊँ भनेका थिए। तर आफूहरुले पार्टी एक बनाउन माधवकुमार नेपाल र झलनाथ खनालहरूसँगै मिलेर जानुपर्ने सुझाव दिएको बताए।



‘हामीले अहिले एमालेमा देखिएको विभाजन एक दुईजना मिलाएर समस्या समाधान हुँदैन भनेर सुझाव दियौँ’, बुढाले फरकधारसँग भने, ‘सिंगै पार्टीलाई एक बनाउनुस्, नेपालको राजनीतिमा एक पटक फेरि सरप्राइज दिनुस् भनेका छौँ।’

सांसद बुढाले नेपाल–खनालसँग पानी बाराबारको अवस्था अन्त्यका लागि पार्टी अध्यक्षका हैसियतले ठूला छाती बनाउन सुझाव दिइएको बताए। ‘माधव नेपाल–झलनाथ नभएमा एमाले पूर्ण हुन सक्दैन। त्यसैले प्रधानमन्त्रीलाई यो बेला एउटा सरप्राइज दिनुस् भनेका छौँ।’

सांसद बुढाले यदि ओलीले सरप्राइज दिएमा एमाले पहिलेकै अवस्थामा फर्किने बताए। ‘प्रधानमन्त्रीले सरप्राइज दिने गरी अघि बढेमा सबै नेताहरु एकै ठाउँमा हुन्छन्। वामदेव गौतम आउँछन्। माधव नेपाल हुन्छन्, झलनाथ आउँछन्। पार्टी फुटमा पुगेको बेलामा पार्टी अध्यक्षले मिलाएर सरप्राइज दिनुस् भन्ने हाम्रो माग हो। थोरै समयमा सरप्राइज दिएर हिरो बन्नुस् भनेका छौँ।’ 

उनीहरुले सांसद र केन्द्रीय सदस्यहरु मात्रै मिलाएर नहुने बताउँदै सडकमा पुगेका नेपाल–खनाल पनि आए मात्रै पार्टी बलियो हुने तर्क गरेका थिए। ‘हामीलाई चाहिएको सुदृढ र एकीकृत एमाले हो। अहिलेसम्म पार्टीमा जे जे भए पनि मिलाएर जाने कुरामा यहाँले नै पहल गर्नुपर्यो भनेका छौँ’, बुढाले भने, ‘माधव नेपालसँग रिसाएर के गुर्न वडा र टोलमा काम गरिहेको हाम्रै कार्यकर्ताले दुःख पाउँछ, झगडा हुन्छ।’

भेटमा उनीहरुले तलदेखि माथिसम्म मिलाएर सरप्राइज दिन आग्रह गरेका थिए। ‘एकजना कोही सामेल भएर  नभएर यो समस्या समाधान हुँदैन’, बुढाले ओलीलाई सुझाव दिँदै भने, ‘हामीलाई सिंगो एमाले चाहिएको हो। त्यो एमाले अहिले सडकमा पुगेका नेताहरु पनि समेटिएपछि पूरा हुनेछ।’

सांसदहरुले ओलीको नेतृत्वमा देश विकासले गति लिएको बताउँदै अब पार्टीलाई पनि बचाउनुपर्ने सुझाएका थिए। ‘तपाईंले देश विकास गर्नुभएको छ। सिकेर राउत र विप्लवलाई पनि मिलाएर शान्ति प्रक्रियामा ल्याउन सक्ने तपाईं माधव नेपाललाई पनि मिलाएर लैजानुपर्‍यो’, सांसदहरुले सुझाव दिँदै भने, ‘यति हुन सक्यो भने तपाईं सधैँ हिरो भएर रहनुहुनेछ।’

सांसदहरुले नवौँ महाधिवेशनमै पार्टी विभाजनको अभ्यास गरिएको बताएका थिए। ‘अहिले पार्टी तलको भूगोलसम्म विभाजित भएको छ। अहिलेको अवस्था माधव नेपालका कारण मात्रै आएको होइन। तपाईंहरुले नवौँ महाधिवेशनदेखि नै दुई समूह बनाएर गल्ती गर्नुभयो’, सांसदहरुले सुझाव दिँदै भने, ‘अहिले तपाईंहरुले तलैसम्म कार्यकर्ता लडाउनु भएको छ। माथिदेखि तलसम्म विभाजित छन्। माधव नेपाल र झलनाथ खनालले पनि पार्टी निर्माण गरेका हुन्। त्यसैले अब निषेध गरेर नजानु होला।’

सांसदहरुले अहिलेको विभाजन २०५४ सालको जस्तो नभएको पनि ओलीलाई स्मरण गराए। ‘यो २०५४ सालको जस्तो विभाजन होइन। फरक खालको विभाजन हो। व्यवस्थित तरिकाको विभाजन भएको छ। तलैसम्म समानान्तर गतिविधि भएका छन्। यस भयंकर ठूलो दुर्घटना ल्याउँछ’, उनीहरुले प्रधानमन्त्रीलाई भने, ‘पार्टी विभाजन भएका बेला चुनावमा गयौँ भने एक सिट पनि जित्न सक्दैनौँ। कर्णालीमा एमाले एउटा सिट पनि ल्याउँदैन। सुदूरपश्चिममा एक सिट जित्दैन, २ नम्बर प्रदेशमा १ सिट जित्दैन। उपत्यकामा अवस्था उस्तै छ। त्यसैले बेलैमा सोचौँ।’

सांसदहरुले एमाले एकचोटी हारिसकेपछि अहिलेको अवस्थामा आउने कुरा कल्पना बाहिरको हुने बताएका थिए। ‘एक चोटी पार्टी हारिसकेपछि अहिलेकै अवस्थामा र  यही ठाउँमा आउन त कल्पना मात्रै गर्नुपर्छ’, बुढाले प्रधानमन्त्रीसँगको  भनाइ उद्धृत गर्दै भने, ‘त्यो त पत्रकार महासंघको चुनावले पनि देखाइसकेको छ। केपी ओलीलाई अहिले चौतर्फी घेराबन्दी भएको छ। सरकारलाई आक्रमण गरेर अघि बढ्ने दिशामा विपक्षी छन्, त्यसैले तपाईंले छाती ठूलो बनाएर दुर्घटना रोक्नुस्।’

सांसदहरुले ओलीलाई एउटा रुखको मात्रै मालिक नबन्न पनि सुझाव दिए। ‘तपाईँ समग्र वनको मालिक हुनुस्, एउटा रुखको मालिक बनेर भएन’, उनीहरुले भने, ‘त्यसैले तपाईंले अहिले सडकमा पुगेका सबै नेताहरुलाई समेटेर एमालेलाई बलियो बनाउने यो अवसर नगुमाउनुस्, तपाईं हिरो हुने अवसर आएको छ, सदुपयोग गर्नुस्।’

प्रधानमन्त्रीको जवाफ

सांसदहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई आफ्नै पार्टी भित्रबाट घेराबन्दी गरिएको बताएका थिए। 

सांसद बुढाका अनुसार राम्रा काम गर्दा गर्दै पनि आफूलाई पार्टी भित्रबाट असहयोग भएको बताएका थिए। ‘मैले एक्लै धेरै काम गर्ने प्रयास गरेँ। सरकारले गरेका गतिविधिमा सहयोग भएन। राम्रा कामको पनि चर्चा भएन’, ओलीले भने, ‘सिके राउतदेखि विप्लवसम्मलाई शान्ति प्रक्रियामा ल्याएँ। माओवादीसँग एकीकरण गराएँ। तर पार्टीबाट सहयोग भएन। सरकारका राम्रा काम पनि तलसम्म गएनन्।’

माधव प्रसंग 

ओलीले छलफलका क्रममा नेता माधव नेपाललाई कुनै कुरामा लाञ्छित नगरेको बुढाले बताए। ‘माधव नेपाललाई लक्षित गरेर प्रधानमन्त्रीले अपमानजनक कुरा गर्नुभएन। कुनै किसिमको आरोप लगाउनु भएन’, उनले भने, ‘तर प्रचण्डसँग मिले आफूलाई घेराबन्दी गरेर अघि बढेको गुनासो गर्नुभयो।’

ओलीले माधव पक्षसँग वार्ता पहल भइरहेको पनि बताए। ‘माधवजीहरुसँग वार्ताको पहल भइरहेको छ, म कुरा गर्छु’, उनले भने, ‘पार्टी एक होस् भन्ने पक्षमा त म पनि छु तर अरूसँग लागेर मलाई भएको घेराबन्दीप्रति दुःख लागेको छ।’

  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १५:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया