कर्णाली प्रदेशका नेकपा एमालेका चारजना सांसदहरुले फ्लोर गरेका छन्। एमालेको माधवकुमार नेपाल पक्षीय चारजना सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका हुन्।
मुख्यमन्त्री शाहीको पक्षमा नेकपा एमाले नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले फ्लोर क्रस गरेर मतदान गरेका हुन्। त्यसैगरी मुख्यमन्त्री शाहीको पक्षमा नेपाली कांग्रेसका ६ जना सांसदहरुले मतदान गरे।
शाहीको पक्षमा माओवादीका १२ जना, कांग्रेसका ६ जना र नेकपा एमालेका ४ जनासहित २२ जना सांसदहरुले मतदान गरेका हुन्। शाहीलाई सरकार बचाउन २० जना सांसद भए पुग्ने थियो। शाहीको पक्षमा उभिने ज्वाला तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री हुन्। उनले फागुन २३ मा सर्वोच्च नेकपा छुट्टाएर एमाले र माओवादी बनाएपछि पदबाट राजीनामा दिएका थिए।
शाहीको विपक्षमा भने एमालेका १५ जना सांसदले मत हालेका थिए। कर्णालीमा एमालेका वरिष्ठ नेपाल पक्षीय ९ जना सांसद थिए। जसमा चारजना सांसदहरुले फ्लोर क्रस गरेर शाहीको पक्षमा मतदान गरेका हुन्।
नेपाल पक्षकी एकजना सांसद देवी वलीले भने शाहीको पक्षमा गरेको मतदान सच्याएकी थिइन्। १२ जना सांसद रहेको माओवादीबाट निर्वाचित मुख्यमन्त्री शाहीलाई आफ्नो सत्ता जोगाउन २० मत आवश्यक थियो। यस्तोमा उनलाई कांग्रेसका ६ जना सांसदले समर्थन गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।