कर्णालीका मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसद्हरु : ओलीको मनपरी तन्त्रविरुद्ध उभिएका हौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार भएको प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको माधव नेपाल समूहका ४ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन् ।

नेपाली काँग्रेसले पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई सहयोग गरेको छ । विश्वासको मत दिने सांसदहरूले केन्द्रमा प्रधानमन्त्री ओलीले गरेको मनपरी तन्त्रका विरुद्धमा उभिएको बताएका छन् । एमालेको सरकार बनेपछि कर्णालीमा पनि ओलीको मनपरी चल्ने भन्दै उनीहरूले माओवादीलाई सर्पोट गरेको प्रतिक्रिया दिएका छन् । एमालेबाट विश्वासको मत दिने माधव नेपाल समूहका नेता प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा रहेका छन् । 

प्रकाश ज्वाला, सांसद नेकपा एमाले, माधव नेपाल पक्ष

एमालेभित्र मनपरी तन्त्रका विरुद्धमा हामी उभिएका छौँ । एमालेभित्र विभिन्न समस्या छन् । पार्टीभित्र एकलौटी अधिकार जमाउने, कारबाहीको नाममा हाम्रा नेताहरूलाई दुःख दिने काम भएको छ । यो समस्या केन्द्रको मात्रै नभएर प्रदेशको पनि हो । प्रदेशमा पनि यस्ता थुप्रै समस्या छन् । पार्टीभित्र हामीलाई पूरै बेवास्ता गर्ने काम भएका छन् । यस कारण हामीले पार्टीको ह्विप अस्वीकार गरेका हौँ ।

अमरबहादुर थापा, सांसद नेकपा एमाले, माधव नेपाल पक्ष

एमालेभित्र थुप्रै समस्या देखिएका छन् । त्यसलाई समाधान गर्ने धेरै प्रयास भए पनि सफलता हात लागेन । केन्द्रमा प्रधानमन्त्री ओलीले गरेको कारबाहीको प्रतिशोध स्वरुप हामीले एमालेको ह्विप उल्लंघन गरेका हौँ । यी समस्या पहिला नै हामीले समाधान गर्ने प्रयास नगरेका होइनौँ तर अर्को पक्षबाट कुनै पनि वास्ता नगरेपछि हामी आफ्नै पार्टीको ह्विपविरुद्ध उभियौं ।



जीवन शाही, सांसद नेपाली काँग्रेस 

हिजो हामी केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा लड्यौँ । काँग्रेसको केन्द्रीय कार्यसमितिले पनि एमाले बाहेकका पार्टीसँग सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ । सोहीअनुसार हामीले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई मतदान गरेका हौँ । संख्यात्मक हिसाबमा माओवादी र काँग्रेस एक ठाउँमा उभिए पनि नपुग्ने अवस्था थियो । तर, एमालेकै सांसदहरूले फ्लोर क्रस गरेपछि अहिले मुख्यमन्त्रीले विश्वासको मत पाउनु भएको छ ।



हामीले त विपक्षी हुन्छौँ भनेर माओवादीलाई समर्थन गरेका थियौँ । तर, एमालेबाटै फ्लोर क्रस भएको छ । अब यस पछिको उत्पन्न परिस्थिति फरक छ । सरकार के कसरी अघि बढ्छ त्यस विषयमा छलफल हुन्छ ।

  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार २०:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया