नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिदेशीय टि–२० अन्तर्राष्टिय सिरिजको उद्घाटन खेलमा आज नेपाल र नेदरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
नेपाल ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदानमा उत्रनेछन् । दुवै टोली यो खेलमा जित हात पार्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने प्रयासमा छन् ।
एसोसिएट राष्ट्रको बलियो टोली नेदरल्यान्डलाई पराजित गर्न नेपाललाई त्यति सहज छैन । नेदरल्यान्डलाई पनि नेपालको घरेलु मैदानमा खेल्न सहज हुनेछैन ।
वैशाख ११ सम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड र मलेसियाको सहभागिता छ । डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भर्सेस नेदरल्यान्ड ‘हेड टु हेड’
नेपाल र नेदरल्यान्ड चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुईले हालसम्म ८ टि–२० खेलेका छन् । जसमा २ टि–२० र ६ टि–२० अन्तर्राष्ट्रिय खेल सामेल छन् ।
नेपालले कुनै पनि देशविरुद्ध खेलेको यो सर्वाधिक टि–२० हो । नेपालले ८ खेल मध्ये २ खेलमा जित दर्ता गर्दा नेदरल्यान्डले ५ खेल आफ्नो पक्षमा पारेको छ । १ खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाल र नेदरल्यान्डले एक अर्काविरुद्ध पहिलो टि–२० सन् २०१२ मा खेलेका थिए । आइसिसी टि–२० विश्वकप छनोट अन्र्तगत भएको उक्त खेलमा नेदरल्यान्ड ४ विकेटले विजयी भएको थियो ।
सन् २०१४ को विश्वकप खेलेपछि पाएको टि–२० मान्यतापछि नेपालले नेदरल्यान्डको भ्रमण ग¥यो । ४ खेलको यो टि–२० सिरिज नेपालको पहिलो अन्तर्राष्ट्रिय सिरिज थियो । यो सिरिज नेपालले ३–१ ले गुमाएको थियो ।
सिरिजको पहिलो खेल १८, दोस्रो खेल १०२ र तेस्रो खेल १७ रनले गुमाएको नेपालले चौथो खेलमा भने ४ विकेटको जित हात पार्यो । यो नेपालले नेदरल्यान्ड विरुद्ध निकालेको पहिलो जित थियो ।
यी दुईले अन्तिमपटक सन् २०१९ मा ओमानमा भएको ५ देश सम्मिलित टि–२० सिरिजमा एक अर्काको सामना गरेका थिए । यो खेलमा नेपालले ४ विकेटको जित हात पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।