राजनीतिक जालझेलविरुद्ध प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोखरेलको आह्वान
फाइल तस्बिर

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए । 

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हरेक क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा पोखरेलले जोड दिए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनले बताए । 

सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए । 

पोखरेलले भने, “राजनैतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने, सरकार त ५ वर्षका लागि आएको हो निर्वाचित भएर । सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर, बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल श्रृजना हुन्छ ।” 

पोखरेलले थपे, “अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।”

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । 



पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए । उनले स्थानीयस्तरमा हुने विकास निर्माणलाई राजनीतिक रुपमा नहेर्न आग्रह गरे । राजनीतिक रुपमा प्रतिस्पर्धा भएपनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए । 



  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार ११:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया