सहिद पार्कमा आन्तरिक पर्यटकको घुइँचो (फोटो फिचर)
वीरेन्द्रनगर–४ भंगेरीचौरस्थित निर्माणाधीन सहिद पार्कमा पुगेका आन्तरिक पर्यटकहरू । तस्बिर : वसन्त भण्डारी/फरकधार

वीरेन्द्रनगर–४ भंगेरीचौरको सहिद पार्कमा पर्यटकहरूको घुइँचो लागेको छ । कर्णाली प्रदेश प्राप्तिका लागि सहिद भएकाहरूको सम्झनामा निर्माणाधीन पार्कमा पछिल्लो समय अत्यधिक मात्रामा अन्तरिक पर्यटक जाने गरेका छन् । वरिपरि वन जंगलको बीचमा निर्माण गरिएको पार्कमा मानिसहरू बजार क्षेत्रबाट एकान्त ठाउँ खोज्दै जाने गरेका हुन् ।

पार्कको दोस्रो चरण अन्तर्गत कम्पाउन्डिङ वाल निर्माणको काम भइरहेको छ । पार्क अन्तर्गत पहिलो चरणमा पानीको फोहोरा, सहिद स्मारक, केही क्षेत्रमा बगैँचा निर्माण गरिएको छ । पहिलो चरणमा अभियान निर्माण सेवा कालिकोटले भ्याट सहित १ करोड १३ लाख ५१ हजार ६१७ रुपैयाँ ९९ पैसामा पानीको फोहोरा, सहिद स्मारक, केही क्षेत्रमा बगैँचा निर्माण गरेको थियो । 

दोस्रो चरण अन्तर्गत कम्पाउन्ड वाल निर्माणको काम अन्तिम चरणमा रहेको करिब सम्पन्न भएको वन तथा वातावरण निर्देशनालयका प्रदेश वन निर्देशक शिवराम अधिकारीले जानकारी दिए । कमाउन्ड निर्माणका लागि प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेको छ । 

बजेट नहुँदा निर्माणमा ढिलाइ 

भैरव सामुदायिक वनको ५ हेक्टर क्षेत्रमा ३ वर्षे गुरुयोजनामा सहिद पार्क निर्माण गरिएको हो । गुरुयोजना अनुसार झण्डै ६ करोडभन्दा बढी बजेट लाग्ने बताइएको छ भने वनस्पति उद्यान, पानीको फोहोरा ४ वटा, बाल उद्यान, पिक्निक पार्क लगायत निर्माण हुन बाँकी छन् । मन्त्रालयबाट पर्याप्त मात्रामा बजेट निकासा नहुँदा निर्माणमा ढिलाइ हुँदै गएको निर्देशक अधिकारीले बताए । 

‘आन्तरिक पर्यटकले अत्यधिक मात्रामा मन पराएको पार्कमा निर्माण गर्नुपर्ने कुराहरू थुप्रै छन्,’ उनले भने, ‘मन्त्रालयबाट पर्याप्त मात्रामा बजेट आएको छैन । ३ वर्षे गुरुयोजना भए पनि बजेट अभावका कारण ५ वर्षभित्र सक्ने हाम्रो योजना छ ।’



आकर्षक पदमार्ग

सहिद पार्कलाई लक्षित गरी आकर्षक पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको ७५ लाख रुपैयाँमा आर्थिक वर्ष ०७६÷७७ मा डिभिजन वन कार्यालय सुर्खेतले एक किमि मार्ग निर्माण गरेको हो । टाएल बिच्छाएर निर्माण गरिएको मार्गको बीच बीचमा प्रतीक्षालय समेत बनाइएको छ । घना जंगलको बीचमा टायल बिच्छ्याइएको बाटो निकै आकर्षक देखिन्छ ।



पदमार्ग ३५ सय मिटर निर्माण गरिने बताइएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेट निकासा नहुँदा निर्माणको काम अघि नबढेको भैरव सामुदायिक वनका अध्यक्ष एवम् पदमार्ग निर्माण समितिका अध्यक्ष अम्मरबहादुर कार्कीले वीरेन्द्रनगरमा गोठीकाँडासम्म पुग्ने पदमार्ग निर्माण गरिने बताए । 

आन्तरिक पर्यटकहरूको गन्तव्य स्थलका रूपमा विकास हुँदै गरेको पर्यटकीय स्थलका विभिन्न व्यवस्थापकीय काम गरिरहेको वीरेन्द्रनगर नगरपालिका–४ का वडा अध्यक्ष नीलकण्ठ खनालले बताए । ‘नगर र वडाले पानीको व्यवस्थापन गरेको छ । १० लाख बराबरको काम स्थानीय सरकारबाट भएको छ ।’ पार्कका लागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय काम वडा वा नगरबाट गरिरहेको बताए ।

  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १६:१२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया