कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने भीम रावलको चेतावनी

नेकपा एमाले सुदूरपश्चिमका इन्चार्ज डा. भीम रावलले कर्णाली प्रदेशमा सांसदले गरेको पार्टीको ह्विप उल्लंघन नभएर पार्टीको विधान नमान्नेका लागि पाठ सिकाएको   बताएका छन् । कर्णाली प्रदेशको जस्तो अवस्था सुदूरपश्चिमसहित देशैभर दोहोरिन सक्ने चेतावनी उनले दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशद्वारा शनिबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले कर्णालीको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री ओलीको कदमविरुद्ध भएको बताए ।

आवश्यक परे अरु प्रदेशमा पनि कर्णाली प्रदेशकै अवस्था सिर्जना हुने घोषणासमेत उनले गरे । राष्ट्रिय एकता र स्वाधीनताका लागि पार्टीको ह्विपको कुनै अर्थ नरहेको उनले बताए ।

‘कर्णाली प्रदेशमा प्रधानमन्त्री ओलीले केही समय पहिले नै प्रमुख सचेतकलाई हटाउन लगाएर विवादको बिउ रोपेका थिए,’ नेता रावलले भने, ‘अहिले सो बिउ उम्रियो र त्यसैले अहिले यस्तो फल दिएको हो ।’ उनले कर्णालीका नेता आफ्नो स्वार्थभन्दा पनि प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध एक भएको बताए ।

डा. रावलले ओली समूहले सुदूरपश्चिमबाट आफूसहित माधव समूहलाई हराउन खोज्नु सपना मात्रै भएको बताए । भर्खरै सकिएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा पनि २५ जनामध्ये १८ जना माधव समूहमै रहेको उनको दाबी छ ।





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १८:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया