नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मथलोका रुपमा दाबी गरेको माडी नगरपालिकास्थित अयोध्यापुरी पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको उक्त ठाउँमा पुगेर प्रचण्डले राम त्यहीँ जन्मेको पुष्टि भए सबैभन्दा खुसी आफू हुने बताएका छन्।
'माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि हो भनेर प्रमाणित भए सबैभन्दा खुसी मै हुन्छु', उनले आइतवार भने, 'माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न अब म निरन्तर लाग्नेछु।'
माडीवासीलाई सम्बोधन गर्दै उनले पुरातत्वविद्, अनुसन्धानकर्ता र खोजकर्ताको गहिरो अनुसन्धान र अध्ययनबाट माडीको अयोध्याधाम नै राम जन्मभूमि प्रमाणित भए चितवन क्षेत्र नं. ३ को जनप्रतिनिधिका रुपमा अरुभन्दा आफू नै खुसी हुने बताए । ‘माडीको अयोध्याधाम नै राम जन्मभूमि भएको आधिकारिक र प्रमाणित गर्न अध्ययन र अनुसन्धान गर्नुपर्छ, यो गम्भीर विषय हो', उनले भने, 'यसमा कसैले पनि सस्तो लोकप्रियता हासिल गर्न खोज्नुहुँदैन।’
माडीको अयोध्याधाम रामको जन्मभूमि भनेर अहिले राष्ट्रिय चर्चा भएको बताउँदै उनले यसलाई आधिकारिक र प्रमाणित गर्न आफू लागिरहने बताए । ‘यहाँको निर्वाचित जनप्रतिनिधिको नाताले पनि अयोध्या नै राम जन्मभूमि हो भनेर प्रमाणित गर्न म लाग्नेछु', उनले भने, 'मेरो मुख्य ध्येय पुरातत्वविद्हरुलाई राखेर प्रमाणित गर्न नै हुन्छ।’
उनले गम्भीर विषयलाई हलुका ढंगले सस्तो लोकप्रियता कमाउन कोही लाग्न नहुने पनि बताए। 'प्रचारमुखी होइन, यर्थाथमुखी तथ्य प्रमाण र वैज्ञानिक ढंगले अनुसन्धान गर्नुपर्छ', उनले थपे, 'म त्यसमा जिम्मेवारी ढंगले लाग्ने विश्वास दिलाउन चाहन्छु।’
प्रचण्डले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान रहेको बताए। उनले राम जन्मभूमि भनेर आधिकारिक रुपमा प्रमाणित गर्न सकिए यहाँको धार्मिक प्रवर्द्धन भएर यहाँको जनताको जीवनस्तर माथि उठ्ने बताए । ‘कम्युनिष्टले धार्मिक आस्थाप्रति उच्च सम्मान गर्दैन भन्ने कुरा झुटो हो', उनले भने, 'धार्मिक आस्थाप्रति कम्युनिष्टहरू नै बढी जिम्मेवार हुनेछन् ।’
माडीको अयोध्याधामलई राम जन्मभूमि प्रमाणित गर्न राज्यले पनि मुठी खोलेर आर्थिक सहयोग गर्नुपर्ने उनले बताए । ‘म सबै माडीवासी, चितवनवासी र देशवासीलाई नै भन्छु माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न म निरन्तर लाग्नेछ', उनले थपे, 'अनुसन्धानबाट प्रमाणित भए ठूलो उपलब्धि हुनेछ ।’
अयोध्याधाममा निर्माण भइरहेका संरचनाप्रति आफ्नो पूर्ण सहयोग रहने अध्यक्ष प्रचण्डले बताए। माडीको अयोध्यापुरीमा रामको जन्म भएको पहिलो दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। त्यसपछि उनले भारतसँगको सम्बन्ध बिगार्न यस्तो बोलेका भन्दै आलोचना गरेका प्रचण्डले नै त्यसबारे चासो बढाएका हुन्। त्यही क्रममा उनी माडीको अयोध्यापुरी पुगेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।