'नयाँ तागतसहित काठमाडौं जाँदैछु, केही दिनमै सुखद समाचार आउँछ'
केपी ओली र अदालत मिलेर पार्टी फुटाइदिएको गुनासो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा केही दिनमै सुखद समाचार आउने बताएका छन्। चितवनको माडीमा माओवादीनिकट वाईसीएलले गरेको कार्यक्रमलाई आइतवार सम्बोधनका क्रममा दाहालले यस्तो बताएका हुन्।

'म अहिले पनि कम्युनिष्ट एकताको पक्षमा छु, प्रतिक्रियावादी षडयन्त्रद्वारा विभाजित गरे पनि हामी फेरि एक हुनेछौँ', उनले भने, 'म आजै माडीबाट फर्किएपछि काठमाडौंमा जो राजनीतिक संवाद हुँदैछ, त्यो निकै महत्वपूर्ण छ। काठमाडौंमा राजनीतिक दलहरूसँग एउटा महत्वपूर्ण वार्ता हुँदैछ। म राजनीतिक तागतसहित काठमाडौ जाँदैछु। केही दिनभित्रै सुखद समाचार सुन्नुहुनेछ तपाईंहरुले।'

दाहालले अहिले पनि कम्युनिष्ट एकताको पक्षमा रहेको बताए। उनले प्रतिक्रियावादी षडयन्त्रद्वारा विभाजित गरे पनि फेरि एक हुने विश्वास व्यक्त गरे।

प्रचण्डले अहिले देशको राजनीति निकै असहज रुपमा अघि बढेको बताए। 'देशको राजनीति अहिले निकै असहज रुपमा अघि बढेको छ। गणतन्त्रमाथि नै हमला भएको छ', उनले भने, 'यो परिवर्तन, गणतन्त्र र संघीयता उल्टाउने षडयन्त्र एकथरी तत्वहरुले गरेका छन्।'

उनले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिरहेको पनि आरोप लगाए। 'केपी ओली गणतन्त्र र संघीयता उल्ट्याउन लागेका छन्। एउटा प्रतिगामी सरकार पतन भएपछि पक्कै नयाँ युग आउनेछ', उनले भने, 'ओलीलाई सत्ताबाट बिदा गर्न पहल भइरहेको छ।'

मर्न मार्न तयार छौँ भने



उनले अझै पनि जनताले आफूलाई मर्न मार्न तयार रहेको बताएको सुनाए। 'चैत २४ गते म रुकुम पुग्दा त्यहाँका हजारौँ जनता उर्लिएर आए सदरमुकाममा आए', उनले भने, 'उनीहरुले त्यहाँ तपाईं अघि बढ्नुस्, हामी फेरि हजारौँको संख्यामा लड्न, मर्न, मार्न तयार छौँ भन्ने उद्घोष गरेका थिए। म पनि जीवनभर लडिरहन्छु। महिलाहरुले पनि हामी बलिदानी दिन तयार छौँ भनेका छन्।'

उनले अहिले आफूमाथि सामान्ती र प्रतिगामीहरुले हमला गरिरहेको पनि बताए। 'अहिले मै माथि हमला गरिरहेका छन्। खासमा शक्तिको स्रोत नेपाली जनता रहेछन्, म बालुवाटारमा चहारेर बसेँ', उनले थपे, 'ठूलो आत्मसमीक्षा गरेको छु। म अब एकचोटी जनताको घर दैलोमा जान्छु जनताको बीचबाट नै नवप्रतिक्रियावादी दलालहरूमाथि धावा बोल्ने बाचा गरेको छु।'



उनले आफू जीवनभर लडिरहने दाबी गरे। '६५ कटेर ६६ हुँदै गए। म बाँचुन्जेल लडिरहन सक्छु। जस्तोसुकै पीडामा पनि लड्छु । हजारौँ सहिदको रगतको मूल्य मेरो टाउकोमा छ', दाहालले भने, 'म अन्तिमसम्म लडेर जनताको र राष्ट्रको पक्षमा अनि मात्रै ऋण फिर्ता गर्न सक्छु। तपाईंहरुसँगै अन्तिसम्म लडिराख्ने छु। हामी सजिलै जित्छौँ ।'

उनले अब हतियार उठाउने आन्दोलन नहुने बताए। 'हामीले अब हतियार उठाउनुपर्ने हिंसा गर्नुपर्ने छैन। हामी हात उठाएर एउटा रंगिन क्रान्ति गर्न सक्छौँ', उनले थपे, 'हजारौँ हातहरु एकसाथ उठ्न सके भने हामीले देशमा परिवर्तन ल्याउन सक्छौँ।'

भिडियो

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १५:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया