त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज : नेदरल्यान्ड विजयी

त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड विजयी भएको छ । उसले आइतबार मलेसियामाथि १५ रनको जित दर्ता गरेको हो ।

नेदरल्यान्डले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले सबै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो । 

मलेसियाका लागि विरनदिप सिंहले उत्कृष्ट पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । 

१८.४ ओभरमा सेबस्टियान ब्राटले टेबियस विसेबाट क्याच गराउनुअघि उनले ५३ बलमा ६ चौका र ६ छक्काको मद्दतले ८७ रन प्रहार गरे । 

सर्विन मुनियन्दे २८ र अमिनुदिन राम्लीले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेदरल्यान्डका बास डी लिड, आर्यन दत्त र सेबस्टियान ब्राटले समान २-२ विकेट प्राप्त गर्दा कप्तान पिटर सिलार र फिलिप बोइसेभियनले समान १-१ विकेट लिए ।   



त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो । 

नेदरल्यान्डका ओपनर म्याक्स ओडावडले आक्रामक पारी खेले । १३३ रनमा अविजित रहेका उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरेका थिए । 



बेन कुपर २० रनमा अविजित रहँदा स्कट एडवार्डले ३१ रनको योगदान दिए । 

मलेसियाका पवनदिप सिंह र अनवर रहमानले समान १-१ विकेट लिए । 

नेदरल्यान्डले पहिलो जित दर्ता गर्दा मलेसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

नेदरल्यान्ड पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । 

मलेसियाले आफ्नो दोस्रो खेलमा सोमबार र नेदरल्यान्डले तेस्रो खेलमा मंगलबार नेपालको सामना गर्नेछन् ।

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १५:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया