पदमुक्त भएकै दिन बादलले लिए गृहमन्त्रीको सपथ

सांसदबाट हटेपछि सांसद र मन्त्रीबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादलले आजै पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता ‘बादल’लाई गृहमन्त्रीमा पुन: नियुक्त गरेकी थिइन्। उनलाई आजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले सपथ खुवाएका हुन्।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जनाएका छन्। 

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै व्यक्ति सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्‍न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट वि.सं. २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

 राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखित पत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १८:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया