भर्सटायल अभिनेत्री प्रियंका

नेपाली फिल्मी दुनियाँमा अभिनेत्री रेखा थापाको हालिमुहाली चलिरहेका बेला प्रियंका कार्कीको प्रवेश भयो । त्यो समय थुप्रै नारी अनुहार काँचको पर्दामा देखा परे पनि नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । तर, प्रियंकालाई रेखाको स्टारडम आफ्नो पक्षमा पार्न धेरै समय लागेन । प्रियंका कार्कीले रंगीन दुनियाँको यात्रा सुरु गरेपछि रेखा थापालाई छायामा पार्न धेरै समय लागेन । 

यो रंगीन नगरीमा आएसँगै प्रियंका विभिन्न कारणले सधैं चर्चामा रहिरहिन् । त्यो समय कार्कीलाई युवा पुस्ताका दर्शक तथा चलचित्र क्षेत्रकै मान्छेले पनि सेक्स सिम्बोलका रूपमा हेरे । त्यसो त उनी माथिको यो सिम्बोल उनकै कमाइ हो ।

चलचित्र क्षेत्रमा चिनिँदै गर्दा उनले ‘डाइनिङ टेबुलमा सेक्स गर्दा मज्जा आउँछ’ भन्दै दिएको अन्तर्वार्ता त्यो समय हिट मात्रै होइन सोही अन्तर्वार्ताका कारण उनले विभिन्न खालका तुच्छ शब्दहरू सुन्नु पर्‍यो । उनले दिएको त्यो अन्तर्वार्ताको फल अभिनेत्री कार्कीले अहिले पनि बेला-बेला भोग्ने गरेकी छन् । 

सानैदेखि अभिनयमा रुची राख्ने कार्कीले केही समय सञ्चार क्षेत्रमा पनि आफ्नो समय खर्चिएकी छन् । कान्तिपुर टेलिभिजनमा झण्डै २ वर्ष भिजेका रूपमा देखा परेकी कार्की सन् २००५ को ‘मिस टिन’ समेत हुन् ।

सिने नगरीमा प्रवेश गरेदेखि नै प्रियंका सधैं व्यस्त रहिन् । उनको हातमा ‘ब्याक टु ब्याक’ सिनेमा परे । सेक्सी लुक, आकर्षक नृत्य र कामप्रति जिम्मेवार भएकै कारण प्रियंकाले यस क्षेत्रमा प्रवेश गरेदेखि खाली बस्नु परेन । ‘थ्री लभर्स’ नामक चलचित्रबाट अभिनय सुरु गरेकी उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन ।

मिहिनेत प्रियंका कार्कीको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनले यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भएकी छन् । तर, चलचित्रका पारखीहरू भने उनको अभिनयसँग सन्तुष्ट देखिँदैनन् । कार्कीका अधिकांश फिल्म हेरेको बताउने प्रकृति दाहाल उनको अभिनयको पाटो फितलो भएको बताउँछन् । प्रायः एकै खाले चरित्र निर्वाह गरेको उनको भनाइ छ ।



चलचित्र समीक्षक सामिप्यराज तिमल्सिना भने कार्कीलाई भर्सटायल अभिनेत्रीका रूपमा लिन्छन् । उनी भन्छन्, ‘प्रियंका गर्लफ्रेन्डदेखि आमा सबै खाले भूमिकामा सुहाउँछिन् । नेपालका अभिनेत्रीमा यस्तो भर्सटालिटी कमै देख्न पाइन्छ । तर, प्रियंकालाई यस्ता चरित्र सुहाउने मात्र होइन, उनले यस्ता भूमिकालाई न्याय पनि गर्न सक्छिन् । उनको फिल्मोग्राफी हेर्ने हो यो विशेषता स्पष्ट देखिन आउँछ ।’

दुई दशकअघि चलचित्र ‘महादेवी’मा बालकलाकार भएर क्यामेरा फेस गरेकी प्रियंकालाई आज पनि क्यामेरासँग डर लाग्छ । नर्भस हुन्छिन् । तर, समय सँगै उनको डराइ फरक छ । त्यसबेला आफूलाई कसैले चिन्दैनथे । अहिले सबैले चिन्छन्, त्यसैले प्रियंका अहिले झन् बढी चुनौती महसुस गर्छिन् ।  मनमा भएको यही चुनौतीका कारण उनी नम्बर वान नायिकाका रूपमा स्थापित हुन् सफल भएकी हुन् भन्दा फरक पर्दैन ।



आफ्ना केही सफल चलचित्रमा अभिनय गराएकी कलाकार तथा निर्देशक दीपाश्री निरौला प्रियंकालाई निक्कै जिम्मेवार नायिकाका रूपमा लिन्छिन् । कामलाई पूजा गर्ने  प्रियंकाको बानीसँग निरौला निक्कै प्रभावित छिन् । कार्कीसँग काम गर्दा कामप्रतिको मोह अझै बढेर जाने दीपाको भनाइ छ ।

प्रेम, जीवन र सेक्सका बारेमा खुलेर अभिव्यक्ति दिने प्रियंका सामाजिक सञ्जालमा पनि चर्चामा आइरहने अभिनेत्री हुन् । करिअरको सुरुवात ताका नै आएको उनको सेक्स अभिव्यक्ति र त्यसपछि उनका हरेक भनाइ तथा तस्बिरहरूमा आउने प्रतिकृयालाई आधार मान्ने हो भने नेपाली समाजले उनलाई एसेप्ट गर्न नसकेको भान हुन्छ ।

पछिल्लो समय उनले गर्भवती भएको जानकारीसहित सार्वजनिक गरेको तस्बिरमा पनि निक्कै नकारात्मक प्रतिकृयाहरू आए । तर, सामाजिक सञ्जालमा आउने यस्ता खालका प्रतिकृयालाई पनि इग्नोर गर्ने राम्रो कला छ उनीसँग । बेला-बेला सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टमा मन अमिलो पार्दै सामाजिक सञ्जालमै पोखिने प्रियंकाले यो अमिलो पनको असर आफ्नो काममा पर्न दिने गरेकी छैनन् ।

उनको यो बानीले पनि फिल्म क्षेत्रमा अगाडि बढ्न निक्कै सहयोग गरेको उनका सहकर्मीहरू बताउँछन् ।

चलचित्र क्षेत्रलाई निक्कै सुन्दर ढंगले अघि बढाएकी कार्कीको व्यावहारिक जीवन भने केही समय राम्रो देखिएन । पहिलो वैवाहिक जीवन सहज नभएपछि एक्लिएकी प्रियंका लामो समय एक्लै बसिन् । यो समय पनि प्रेम र प्रेमीका बारेमा बाहिरिएका गसिपहरूले उनमा अव्यावहारिकपन देखाउँथ्यो ।

चलचित्र समीक्षक तिमल्सिना पनि प्रेम नै प्रियंकाको कमजोरी सम्झन्छन् । तर, प्रेमी आयुषमान देशराजसँगको विवाहपछि भने प्रियंका निक्कै व्यवस्थित देखिएकी छन् । बेला-बेला बाहिरिने केही फोटो सुटबाहेक उनका कुनै पनि गसिपले प्राथमिकता पाएका छैनन् । कोरोनापछि फिल्मी क्षेत्रबाट टाढा रहेकी प्रियंका आमा बन्ने तयारीमा छिन् ।

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १८:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया