सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण र मृत्युदर
भारतबाट आएका थप ४० जनामा कोरोना

विश्वमा देखिएको कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि बढ्न थालेको छ । 

पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै सुदूरपश्चिममा पनि कडा लक्षण भएका बिरामी थपिएका हुन् । पहिलो चरणका सुरुवाती केही महिनासम्म कोरोना संक्रमण दर उच्च रह्यो । तर, गत माघदेखि फागुन महिनामा संक्रमण दर घटेको थियो । चैतदेखि पुनः संक्रमण बढेको हो । नयाँ प्रकृतिको कोरोनासहित संक्रमण दर बढ्न थालेपछि मृत्युदर पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । 

भारतबाट आएका मात्र नभएर समुदायस्तरमा पनि कोरोना संक्रमण देखिने गरेको छ । धेरै विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत कोरोना संक्रमण देखिने गरेको छ । जसले गर्दा विद्यालय हप्ता दिनका लागि बन्द भएका छन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिममा हालसम्म १४ हजार तीन सय ३२ जनाको पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएको छ । त्यसमध्ये १४ हजार ५७ जना डिस्चार्ज भएका छन् । २ सय १६ जना सक्रिय बिरामी छन् भने ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार पहिले कोरोनाको एउटै भेरियन्ट रहेको थियो । आजभोलि अर्को नयाँ युके भेरियन्ट आएको छ । यसले संक्रमण दर पनि बढेको उनले बताए । पछिल्लो ३ महिनायता धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको छ । जुन क्रम बढ्दो रहेको अस्पतालले जनाएको छ । 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालमा कडा र जटिलखाले लक्षण देखिने बिरामीलाई मात्र भर्ना लिने गरेको बताए । पहिलेभन्दा बिरामीमा जटिल समस्या देखिएको र मृत्युदर पनि बढिरहेको श्रेष्ठले बताए ।



गत फागुन १० गते कैलालीको गोदावरी नगरपालिका २ का ४४ वर्षीय पुरुषको मृत्यु भएको थियो भने चैत ३० गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष र कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको वैशाख ४ गते मृत्यु भएको श्रेष्ठले बताए । 

पछिल्लो तथ्यांक हेर्दा संक्रमण र मृत्यु बढ्दो रहेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले पछिल्लो समय कोरोनाप्रति बेवास्ता बढेको बताउँदै सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्नेलगायत सुरक्षाका मापदण्ड प्रयोगमा कमी आएको बताए । 



भारतबाट आएका ४० जनामा कोरोना 

आइतबार नेपाल–भारत सीमा गौरीफन्टा नाका हुँदै नेपाल आएकामध्ये ४० जनामा कोरोना संक्रमण देखिएको छ । गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर ७ सयजना भित्रिएका छन् । तीमध्ये ३ सय ४० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म यो नाकाबाट भित्रिएकामध्ये ९ हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने ७ सय २४ जनामा संक्रमण देखिएको इन्चार्ज साउदले बताए । 

  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार २०:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया