कोरोनाको दोस्रो लहर : काठमाडौंका अस्पतालको तयारी कस्तो छ ?
अवस्था दिनदिनै नाजुक र खतरायुक्त !

कोरोनाको म्युटेन्ट स्वरूप नेपालमा विस्तारै फैलिने क्रम जारी छ । हाल यहाँ दोस्रो चरणको कोरोना लहर फैलिएको छ । दिनमा ८ देखि ९ सय जना संक्रमित  देखिन थालेका छन् । स्वास्थ्य सुविधा सम्पन्न देशको राजधानी सहर काठमाडौंमा यसको प्रभाव अन्यत्र भन्दा बढी छ ।

हाल मानिसहरूले गरेको लापरबाहीले कोरोनाको जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन् । कोरोनालाई सामान्य र हल्का रूपमा नलिन आग्रह गर्दा-गर्दै बढेको यो समस्यालाई विज्ञहरूले सर्वसाधरणको लापरबाहीको संज्ञा दिएका छन् ।

काठमाडौंमा हाल चार सरकारी अस्पतालहरू कोरोनाको उपचारमा खटिएका छन् । जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, नेपाल एपिएफ अस्पताल बलम्बु तथा अत्यधिक मात्रामा सिरियस कोरोना संक्रमितका लागि भनेर छुट्याइएको अस्पताल त्रिवि शिक्षण अस्पताल हुन् ।

अस्पतालहरूमा हाल कोरोना बिरामीको चाप बढेको छ । अस्पतालहरूमा पछिल्लो समयमा फागुनदेखि नै कोरोना बिरामीको संख्या बढेको बताइएको छ ।  

शुक्रराज ट्रपिकल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला भन्छन्, ‘हाल २० वटा आइसोलेसन सक्रिय रूपमा काम गर्न सक्ने अवस्थामा छन् । यसमा १६ वटा आइसोलेसनमा बिरामी राखिएको छ ।’ पछिल्लो समय मानिसहरूको लापरबाहीको नतिजा अत्यधिक मात्रामा कोरोनाको जोखिम बढेको उनले बताए । हाल टेकु अस्पतालमा ५४ शय्या कोरोनाका लागि भनेर छुट्याइएको उनले जानकारी दिए । जसमा हाल २० वटा आइसोलेसन सञ्चालनमा छन् ।

कोरोनाको दोस्रो लहरमा पहिलाको तुलनामा बढी संक्रमित भएका कारण ३ वटा आइसोलेसन थप गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए । हाल स्वास्थ्यकर्मीको पनि व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ । धेरै संख्यामा बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको पनि अभाव हुन थालेको हो । कोरोनाको म्युटेन्ट स्वरूप पहिलेको तुलनामा बढी संक्रामक भएका कारण यसबाट बिरामीमा असर बढी परेको स्वास्थ्यकर्मी बताउँछन् ।



भइरहेको स्रोत साधन अहिलेको अवस्थामा पर्याप्त भए पनि निकट भविष्यमा यही अनुरूप बिरामीको संख्या बढेमा समस्या आउने चिकित्सकहरू बताउँछन् । 

टेकु अस्पतालमा कोभिड वार्डमा २९ वटा शय्या छन् । कोभिड आइसोलेसनमा ५ वटा शय्या छन् । आइसियूमा ५४ वटा शय्या छन् । आइसियूका लागि शय्या थप गरेर ५७ वटासम्म पुर्‍याउन टेकु अस्पताल तयार रहेको उनले जानकारी दिए ।



पहिलेका बिरामीहरूको तुलनामा अहिलेका बिरामीहरूमा खोकी बढी र सास फेर्न गाह्रो हुने किसिमको लक्षण देखा परेको डा. बास्तोलाले जानकारी दिए । पहिलेको तुलनामा यो म्युटेन्ट स्वरुप बढी संक्रामकका साथसाथै बिरामीमा सास फेर्न गाह्रो हुने र अक्सिजनका समस्याहरू देखा परेका छन् । हालका बिरामीहरूमा पहिलेको तुलनामा श्वासप्रश्वासको समस्या बढी देखिएको उनले बताए । 

म्युटेन्ट स्वरूपको भाइरस युवापुस्तामा बढी संक्रमण देखिएको तथ्याङ्क आइरहेको छ । पछिल्लो समयमा आएका बिरामीहरू केही कम उमेरका रहेको चिकित्सकहरूले बताएका छन् ।

अर्को नेपाल एपिएफ अस्पतालमा पनि दुई साता यता कोरोना संक्रमितको संख्यामा ह्वातै वृद्धि भएको छ । पहिले केही महिना मत्थर भए पनि हाल भने कोरोनाका बिरामीको संख्या बढेकोमा चिकित्सकहरूले चिन्ता जाहेर गरेका छन् । हाल बलम्बु अस्पतालमा ५६ जना बिरामी छन् । जसमा १४ जना कोरोना संक्रमित आज मात्रै भर्ना भएका छन् । 

बलम्बु अस्पतालमा १४० कोभिड शय्या राख्न सक्ने क्षमता छ । बलम्बु अस्पतालका डाक्टर प्रविन नेपाल भन्छन्, ‘कोरोना नै हो भनेर छुट्याइएका बिरामी कम छन् । कोभिड पुष्टि भएसँगै हामीले उनीहरूलाई छुट्टै राख्ने व्यवस्था मिलाउँछौँ ।’ बलम्बु अस्पतालमा कोरोनाका लागि भनेर छुट्याइएको शय्या १४० रहेको उनले जानकारी दिए । हिजो मात्रै बलम्बु अस्पतालमा १७ जना कोरोना संक्रमित भर्ना भएका छन् । 

अवस्था दिनदिनै नाजुक र खतरायुक्त भएकाले सबैले आफ्नो तर्फबाट स्वास्थ्य मापदण्ड पालना गर्न उनले अनुरोध गरे । 

त्यस्तै टेकु अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोला भन्छन्, ‘अनावश्यक घर बाहिर ननिस्कौँ ।’ निस्किहाल्नु परेमा स्वास्थ्य मापदण्ड पालना गरी निस्कन उनले सबैमा आग्रह गरेका छन् । 

युवा पुस्तामा कोरोना संक्रमण बढ्नुमा पनि उनीहरुले विभिन्न पर्वमा देखाएको लापरबाही रहेको उनले बताए । उनका अनुसार सबैले स्वास्थ्य सर्तकता नअपनाउने हो भने अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भई मृत्युदर बढ्ने निश्चित छ । हालको कोरोनाको प्रकृति जटिल र संक्रामक रहेका कारण सावधानी अपनाउनुमा उनले जोड दिएका छन् ।

  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १९:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया