कमलरी भनेर हेप्नेहरूलाई शान्ता चौधरीको प्रश्न : माधव नेपालको अपमान कहिले गरेँ ?

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफूले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुलाई गलत बाटोमा नलाग्न भनेको तर कहिल्यै अपमान नगरेको बताएकी छन् । 

वरिष्ठ नेताहरुलाई अपमान गर्ने आफूसँग हिम्मत नभएको भन्दै चौधरीले आफूले मान्दै आएका नेताहरुलाई राजनीतिक जीवनको अन्त्यतिर आएर गलत कदममा नलाग्न आग्रह मात्रै गरेको बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत चौधरीले पार्टीभित्रकै व्यक्तिहरु आफूविरुद्ध लागेर कमलरी भनेर हेपेको तथा होच्याएको भन्दै आफूहरु कानुनी रुपमा मुक्त भएपनि व्यवहारमा उस्तै रहेको दुखेसो गरिन् । 

नेताहरुलाई गलत बाटोमा नहिँड भन्दा उनीहरुका समर्थकले आफूलाई कमलरी भन्दै हेपेको र दूव्र्यवहार गरेको चौधरीले बताइन् । आफूले नेताहरुलाई आफूलाई लागेको कुरा भन्दा अपमानित हुनुपरेको चौधरीको भनाइ छ । 

चौधरीले प्रश्न गरेकी छन्, 'मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ ? एकपटक बताइदिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन उहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरेँ ? भनिदिनुहोस न कमरेड ! मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु, मार्क्‍सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ, घमण्ड गर्नुछैन र कहिल्यै गरेको पनि छैन । तर, यत्ति हेक्का गर्दा हुन्छ कमरेड, आफूले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्धक हुन सक्छन ।' 

चौधरीले आफूलाई राजनीतिक मैदानमा ल्याएर आँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहेको भन्दै लामो समयसम्मको त्याग, बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुग्दा उहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहेको उल्लेख गरेकी छन् । 



नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा भएको भन्दै चौधरीले आफूजस्ता कयौँ शुभचिन्तकको लाख बिन्ती नेता नेपालले नसुनेकोमा दुःख लागेको बताइन् । 

नेता नेपाललाई उनको आग्रह छ, 'आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिँड्नुहोस् तर ध्वंसको होइन, एउटा श्रद्धा गरेको मेरो नेतालाई, आदरणीय मानेको मेरो  नेतालाई लेखेर भन्छु, बोलेर भन्छु, चिच्याएर भन्छु ।'



 

  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार ९:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया