माधव नेपालनिकट नेता विष्णु रिजाल पनि बालुवाटार बैठकमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट एकजना नेता विष्णु रिजाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठकमा सहभागी हुन नेता रिजाल बालुवाटार पुगेका हुन्।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक केही बेरअघि सुरु भएको छ। माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत बनेका नेता रिजाल पछिल्लो समय एमाले एक हुनुपर्ने पक्षमा उभिँदै आएका थिए।

नेकपा एकता हुनुअघि एमाले रहँदा नेता रिजाल प्रचार विभाग सचिव थिए। तर नेकपा बनेपछि उनी विदेश विभाग उपप्रमुख थिए। नेकपाको विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल थिए। 

नेता रिजाललाई वरिष्ठ नेता नेपालका एकजना 'किचेन क्याबिनेट' सदस्यका रुपमा चिनिन्छ। तर उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि निकट सम्बन्ध भएका नेतामा पर्छन्। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि उनी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको समूहमा थिए। 

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो। ब्यूँतिएको एमालेमा पनि उनी माधव नेपाल पक्षमै सक्रिय थिए। तर केही समययता उनले एमाले फुटेर  होइन, निषेध गरेर होइन मिलेर अघि बढ्न नेताहरुलाई दबाब दिँदै आएका थिए।

आजको बालुवाटार बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ। माधव पक्षमा लागेका अनुशासन आयोग प्रमुख अमृतकुमार बोहोराले हिजै विज्ञप्ति निकालेर बालुवाटार बैठक रोक्न अपिल गरेका थिए। 





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १३:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया