ओलीप्रति माधवको आक्रोश : ओली हिटलर जस्तै, जितेपछि पुक्क लात्तीले हानेर सडकमा फालिदिए
सडकमा फालिएकाहरु जिउको धुलो फालेर फेरि उठ्दैछन्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन्। 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै हिटलरको संज्ञा दिएका हुन्। 

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याइदिएको पनि टिप्पणी गरे। प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि आरोप नेपालले लगाए। 

आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कु-प्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए। ‘हाम्रै देशमा कतिपयहरु छन्, नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन्, जितेको भोलिपल्ट आफुलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्‍याङ चढेका हुन्छन्, त्यो भर्‍याङलाई लात्तीले पुक्क फालेर हिर्काएर फालिदिन्छन्। पुक्क फालिएकाहरु सडकमा पछारिन्छन्, त्यसपछि उनीहरु बिजोग हुने स्थितिमा पुग्न खोज्दछन्', उनले भने, 'तर आँटिलाहरु फेरि उठ्छन्, जिउमा धुलो हुन्छ, त्यो फालेर, फ्रेस भएर अगाडि बढ्छ।'

उनले धुलो टकटक्याउने, हटाउने चुनौतीको सामना गर्ने र उज्यालो भविष्यको दिशातर्फ अगाडि बढ्ने मान्छे राजतन्त्रमा नफर्किने र संविधानलाई मास्ने अभियानमा नहुने बताए।  'पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जाने पनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हावी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्ति पूजालाई प्रोत्साहन दिने पनि होइन', उनले भने, 'असल कुरा कहीँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विनापूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ । यसर्थमा राम्रो के हो नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर भजनमण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन। हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो । हिटलरसँगसँगै एउटा अध्याय समाप्त भयो।’

भिडियो



नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दै गर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताए। यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाए।



तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने पनि बताए। ‘संसदले राम्रो भूमिका निर्वाह गर्दैछ तर संसदमा आफ्नो समर्थन नभएपछि संसदलाई नै घाँडो ठान्ने,  पार्टी भित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भङ्ग गरिदिने यस्तो विध्वंसकारी प्रवृति हाम्रो नेपाली समाजमा हिजो आज देखा पर्न थालेको छ', उनले भने, 'यो विध्वंसकारी प्रवृत्तिले सबैलाई दुःख दिइरहेको छ । दुःखको मात्रा फरकफरक होला तर नेपाली जनतामा सबै चिजको सामना गर्ने आँट रहेछ, खुबी रहेछ, क्षमता रहेछ र हामी यस अर्थमा भन्छौं गलत कुराको हार हुन्छ सत्यको जित हुन्छ त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोड्ने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो।’

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए। अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो । तर प्रतिगमनले फेरी सताएको पनि नेता नेपालले बताए। विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तरपनि प्रतिगमनले नछोडेको अनुभुति भएको पनि बताए। 

‘यो प्रतिगमनले धेरै सताएको छ । धेरै सतायो, राजतन्त्र हुँदाखेरी पनि प्रतिगमनले सताएको थियो । अब त प्रतिगमनलाई पार लगाइयो भन्यौं गणतन्त्र आयो फेरी प्रतिगमनकै हातमा छ', उनले भने, 'यो प्रतिगमनको कालो बादल कहिले सम्म मडारिने हो हामी त्यसको प्रतिक्षामा छौं । अन्त्यमा फेरीपनि सत्यकै जित हुन्छ, प्रतिगमनको हार हुन्छ ।’ 

देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिबी, अभाव, बेरोजगारी यी सबै समस्याहरूको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि बताए। यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताए। 

समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि उनले दिए। देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको पनि नेपालले बताए। 

  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १७:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया