कुशल र आसिफको आत्मविश्वास : नेपाली क्रिकेटमा नयाँ आशाको अंकुरण

यतिबेला नेपाली क्रिकेटमा दुई युवा ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखको चर्चा चलिरहेको छ। जसको कारण हो हाल त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिदेशीय टि–२० अन्तर्राष्ट्रियमा उनीहरुले गरेको प्रदर्शन।

खेल हेर्दा लाग्दैन की उनीहरुले नेपाली सिनियर टोलीका लागि मात्र २ टि–२० खेलेका छन्। त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्डले प्रतिस्पर्धा गरेका थिए। 

यो खेलमा तिन नेपाली युवा खेलाडी बलर सहाब आलम र ब्याट्सम्यानद्धय कुशल भुर्तेल र आसिफ शेखले सिनियर टोलीबाट टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गर्‍यो। नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पारेको थियो। 

नेदरल्यान्ड विरुद्ध सिनियर टोलीबाट डेब्यु गरिरहेका सहाब आलम बलिङमा केही महङ्गा सावित भए।  उनले ४ ओभर बलिङ गर्दा ४५ रन खर्चिएर १ विकेट हात पारे। 



बिगतको नेपाली ब्याटिङ

नेपाली टोलीमा जहिले पनि ब्याटिङको समस्या थियो। कुनैपनि ब्याट्सम्यान क्रिजमा राम्रो टिक्न नसक्ने। अघिल्ला भेटमा हेर्दा नेपालभन्दा नेदरल्यान्ड जै बलियो देखिन्थ्यो। नेपालले आफू समानका टोलीसँग प्रतिस्पर्धा गर्दा धेरै पटक १३० हराहारीको स्कोर भेट्टाउन नसकी हार व्यहोरेको थियो। नेदरल्याण्डसँग पनि त्यही अवस्था थियो।



 २०१२ मार्चमा युएईमा भएको टी–२० विश्वकप छनोट खेलमा नेपालाई नेदरल्याण्डले २० ओभरमा ७ विकेटको अवस्थामा जम्मा ८५ रनमा रोकेको थियो। २०१३ नोभेम्बर भएको विश्वकप छनोट खेलमा पनि नेदरल्याण्डले दिएको १११ रनको लक्ष्य पछ्याएको नेपालले १०७ रन मात्रै बनाउन सकेको थियो। २०१५ को जुलाईमा नेदरल्याण्डविरुद्ध ४ खेलको सिरिज खेल्दा नेपालले १४० रनको लक्ष्य भेट्टाएर एक खेलमा जित हात पार्दा ती खेलमा हार व्यहोरेको थियो। 

नेदरल्याण्डसँगको अन्तिम खेलमा भने नेपालले जित हात पारेको थियो। २०१९ अक्टुबरमा ओमानमा भएको खेलमा नेपालले नेदरल्याण्डमाथि ४ विकेटको जित निकालेको थियो। १९.३ ओभरमा १३३ रनमा नेदरल्याण्डलाई नेपाली बलरले अलआउट गराएका थिए। नेपाललाई १३४ रनको लक्ष्य भेटाउन १९.५ ओभरसम्म पुग्नु परेको थियो। ६ विकेट गुमेको थियो। 

यसरी बलिङमा राम्रो प्रदर्शन गर्दागर्दै पनि ब्याटिङमा राम्रो नगर्दा सामान्य स्कोर नभेट्टाएर हार व्यहोरिरहेको थियो नेपाल। 

१३७ रन बनाउनेमा संका

नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य पनि नेपालले पूरा गरेर जित हात पार्नेमा ससंकित थिए नेपाली क्रिकेटका समर्थक। 

जब नेपाल १३७ रनको लक्ष्य पछ्याउन मैदान उत्रियो, यसले धेरै क्रिकेट समर्थकलाई आश्चर्यमा पार्‍यो । किनकी प्रशिक्षक डेभ ह्वाटमोरले दुई डेब्यू ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखलाई ओनिङमा पठाए। 

ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र अर्का कोही ब्याट्सम्यान आउने अनुमान थियो। 

ह्वाटमोरको यो नयाँ प्रयोगले काम गर्ला कि नगर्ला भन्ने सबैमा कौतुहलता थियो। कुशल र आसिफले प्रशिक्षको यो प्रयोगलाई सही साबित गरिदिए।

उनीहरुले सुरुबाटै नेदरल्याण्डविरुद्ध आक्रमण सुरु गरे। नेपालको सुस्त ब्याटिङको इतिहासलाई यी दुई युवाले बिर्साइदिए। विकेट नगुमाएकन लगातार आक्रामण गरेका उनीहरुले अहिले भारतमा चलिरहेको आइपिएलमा हुने आक्रामक ब्याटिङको झल्को दिए। 

उनीहरुले डेब्यु खेलमै पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै नेपाली टोलीका लागि नयाँ कीर्तिमान बनाए। 

टी–२० अन्तर्राष्‍ट्रियमा पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी १०८ रनको थियो। 

त्यो कीर्तिमान अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र पारस खड्काले बनाएका थिए। डेब्यु खेलमै दुई ब्याट्सम्यानले त्यो कीर्तिमान भंग गर्दै सबैलाई सरप्राइज दिए। 

ज्ञानेन्द्र र पारसले सन् २०१९ मा साग गेम्स अन्तर्गत भुटान विरुद्धको खेलमा यो रेकर्ड कायम गरेका थिए। भुटान क्रिकेटमा नेपालभन्दा निकै कमजोर टोली हो। तर कुशल र आसिफले बलियो नेदरल्याण्डविरुद्ध कीर्तिमान कायम गरे। 

कुशल र आसिफले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले १५ ओभरमै मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो। यो खेलमा कुशलले ४५ बलमा समान ५–५ चौका र छक्काको मद्दतले ६२ रन जोडे।

५४ रनमा अविजित रहेका आसिफले ३८ बलमा समान ४–४ चौका र छक्का प्रहार गरे। 

कुशल र आसिफको लय मलेसियाविरुद्धको खेलमा पनि जारी रह्यो। उनीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले मलेसियामाथि पनि ९ विकेटको जित हात पार्‍यो।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा यी दुई ओपनरले १०२ रनको साझेदारी गरे। यो पहिलो विकेटका लागि उनीहरुको लगातार दोस्रो १०० रन भन्दामाथिको साझेदारी थियो। 

मलेसियाविरुद्ध पनि कुशलले अर्धशतक प्रहार गरे। लगातार दोस्रो अर्धशतक प्रहार गरेका उनी ४१ बलमा ३ चौका र ५ छक्काको मद्दतले ६१ मा अविजित रहे।

४२ रन बनाएर आउट भएका आसिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

नेपाली क्रिकेटसँग सरोकार राख्ने व्यक्ति तथा क्रिकेट समर्थकहरू नेपालले राम्रो ओपनिङ जोडी पाएको भनी निकै खुसी छन्।

नेपालको ओपनिङ ब्याटिङमा लामो समयदेखि खड्किरहेको बलियो जोडीको अभाव कुशल र आसिफ पूरा गर्ने विश्वास धेरैले गरेका छन्। यो लय कति टिक्छ त्यसले नेपाली क्रिकेटसहित कुशल र आसिफको भविष्यको पनि निर्धारण गर्ने देखिन्छ। यी दुई ब्याट्सम्यानले लामो अनुभव भएका क्रिकेटरले जस्तै आत्मविश्वासका साथ जसरी २ खेलमा प्रदर्शन रगे । यो लयलाई निरन्तर कायम राख्न सके नेपाली क्रिकेटको भविष्य सुखद् देखिन्छ । उनीहरु नेपाली क्रिकेटका लागि आशाको किरण बनेर उदाएका छन्।

यो सिरिजमा उनीहरुसँगै डेब्यू गरेका साहबले पनि अघिल्लो खेलको तुलनामा सोमबार केही सुधारिएको प्रदर्शन गरे। उनले ३ ओभरमा २० रन खर्चिएर १ विकेट हात पारे।  उनीहरुको यो प्रदर्शनले केही हदसम्म भए पनि नेपाली क्रिकेटमा देखिएको ओपनिङ समस्यालाई समाधान गरेको छ। 

प्रशिक्षक ह्वाटमोरले कुशल र आसिफमाथि गरेको विश्वासलाई उनीहरुले दोस्रो खेलमा पनि कायम राखेका छन्। 
कुशल र आसिफले जुन हिसाबले निडर भएर आक्रमक ब्याटिङ गरिरहेका छन् यसले के कुराको पुष्टि गर्छ भने उनीहरुले नेपाली क्रिकेटका भविष्य हुन्। 

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार ७:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया