काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस संक्रमण भएको छ। भारतको हरिद्वारमा भएको १२ वर्षे कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका उनीहरुलाई सोमबार काठमाडौंमा गरिएको परीक्षणमा कोरोना देखिएको हो।
शनिबार दिल्लीमा गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरु हवाईजहाजबाट काठमाडौं उत्रिएका थिए। उनीहरुलाई काठमाडौंको विमानस्थलमा सयौँ राजावादीहरुले स्वागत गरेका थिए।
तर काठमाडौँ आएपछि सोमबार गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको पूर्वराजाको सचिवालय श्रोतले बताएको छ। यसअघि हरिद्वारको कुम्भमेलामा सहभागी सयौँ साधुहरुलाई पनि कोरोना भइसकेको छ।
त्यस्तै कुम्भ मेलामा सहभागी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि कोरोना संक्रमण भएको छ। उनलाई कोरोनाको पहिलो डोज भ्याक्सिन हानेको नौ दिनपछि संक्रमण पुष्टि भएको थियो।
आदित्यनाथ र पूर्वराजाबीच हरिद्वारमा भेटवार्ता पनि भएको थियो। भारतमा अहिले दैनिक २ लाख ६० हजार भन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्। भारतबाट आउने कयौँ नेपालीमा पनि कोरोनाको युके भेरियन्ट पुष्टि भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।