ओलीको कारबाही श्रृंखलाले एमाले संकटमा पर्‍यो : गोकर्ण विष्ट
अदालतको फैसलाअनुसार पुरानै कमिटी फर्काउन आग्रह

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको कारबाही श्रृंखलाले झन् संकट ल्याउने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसहित ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधिएलगत्तै उनले यस्तो बताएका हुन्। 

ओलीको स्पष्टीकरण सूचीमा नपरेका उनले मंगलबार पार्टीलाई विधि र विचारबाट चलाउनुपर्नेमा जोड दिएका छन्। विष्टले एमालेमा देखा परेका समस्या समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल हुन नसकेको पनि उल्लेख गरेका छन्।

'केही समययता नेकपा एमालेमा देखा परेका समस्याहरूको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ', उनले भनेका छन्, 'यस्ता कारबाहीका शृंखलाले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ। संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन।'

विष्टले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसला अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान लिएका छन्। 'एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ', उनले भनेका छन्, 'एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटी ब्यूँताएर विधिमार्फत समाधान खोज्न आग्रह गर्दछु।'

मंगलबार उनीसहित नेपाल पक्षका ८ सांसदलाई भने ओलीले स्पष्टीकरण सोधेनन्। विष्ट, राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी सतगौवालाई पनि स्पष्टीकरण सोधिएको छैन। ओलीले सांसदहरु बीना बुढाथोकी मगर, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई पनि स्पष्टीकरण नसोधेका हुन्। 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १५:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया