निकै उतार-चढावबीच सेयर बजारमा झिनो अंकको वृद्धि

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ । पछिल्ला दुई दिन निरन्तर घटेको बजार मंगलबार भने २.६८ अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक २.६८ अंकले वृद्धि भई २६६४.६२ बिन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । बजारमा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ०.५० अंकले वृद्धि भई ४७९.६० बिन्दुमा पुगेको हो । समग्र नेप्से परिसूचकमा वृद्धि भए पनि मंगलबार कारोबार रकममा भने संकुचन आएको छ । 

प्रि ओपन सेसनमा मंगलबार ११ अंक बढेको बजार, नियमित कारोबार सुरु भएलगत्तै ओरालो लागेको थियो । आधा घण्टाको तिव्र गिरावटपछि नेप्से अर्को आधा घण्टासम्म तिव्र गतिमा उकालो लागेको थियो । त्यसपछि बजारमा पुनः ‘बियर’ हाबी भएर अर्को आधा घण्टा बजार उनीहरूको कब्जामा रह्यो । त्यसपछि पुनः बजारमा ‘बुल’ को उपस्थिति बढेको थियो ।

सेयर बजारमा यस दिन बियर र बुलबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । एकातिर बुलहरूले जसरी भए पनि बजारलाई उचाइमा लान खोजेको देखिन्थ्यो भने अर्कातिर बियरहरूले बजार तल झार्न खोजेका थिए ।

आज कारोबारमा आएका २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर कुल ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँमा खरिद-बिक्री भएको छ । उक्त कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब २ अर्ब रुपैयाँ कम हो । 

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक यस दिन १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएका लगानी उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०३ प्रतिशतले घटेको छ ।



मंगलबार ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन महिला लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ र हिमालयन ऊर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

त्यस्तै, यस दिन सेयर मूल्य घटेका कम्पनीहरूको गिरावट दर न्यून रहेको छ । कुनै पनि कम्पनीको सेयरमूल्य यस दिन साढे २ प्रतिशतभन्दा बढी घटेको छैन । कारोबारमा आएको सिर्जना फाइनान्सको सेयरमूल्य सर्वाधिक २.४७ प्रतिशत घटेको छ ।



  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १६:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया