नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार २७ जना सांसदलाई स्पष्टीकरण पत्र पठाए। जसमा माधवकुमार नेपाल र झलनाथ खनाल पनि थिए। सुरुमा ३२ जना सांसदलाई स्पष्टीकरण सोधिने भनिए पनि संघ र प्रदेशसहितका २७ जनालाई स्पष्टीकरण सोधिएको हो।
ओलीले सोमबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि उनीहरुलाई दुई र तीन दिनको समय दिएर स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण सोधिने सूचीमा कर्णाली प्रदेशबाट प्रत्यक्षमा निर्वाचित ३ र समानुपातिककी एकजना सांसद पनि थिइन्।
यी सांसदमध्ये दैलेखका राजबहादुर बुढा, सुर्खेतका ध्रुवराज शाही र समानुपातिक सांसद पार्वती विशंखे वैशाख २ मा बालुवाटार छिरेका थिए। ओलीले माधव नेपाल पक्षका नेता र सांसदलाई आफ्नो पक्षमा तान्न छलफल गर्ने क्रममा उनीहरुलाई पनि बालुवाटारमा बोलाएका थिए।
बालुवाटारमा करिब २० मिनेट लामो वार्ताका क्रममा ती सांसदहरुले ओलीलाई एमाले फुटेर चुनावमा गयो भने कर्णाली, सुदूरपश्चिम, उपत्यकासहितका क्षेत्रमा एक सिट पनि नजित्ने बताएका थिए। त्यसैले पार्टी फुटाएर होइन जुटाएर अघि बढ्न उनीहरुले ओलीलाई सुझाएका थिए।
त्यसबेला ओलीले पनि यो कुरामा आफू गम्भीर रहेको बताएका थिए। उक्त बालुवाटार वार्तापछि कर्णालीका यी चार सांसद एमाले एकताको पक्षमा उभिएका हुन्। अर्थात् उनीहरुले अब माधवकुमार नेपाललाई साथ नदिने संकेत गरेका छन्। सोमबार बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकमा नेता नेपालनिकट विष्णु रिजाल पनि सहभागी भएका थिए। उनी पनि दैलेख निवासी हुन्।
ओलीसँगको बालुवाटार वार्तापछि कर्णालीका चार सांसदहरुले आफूलाई एमाले एकताको पक्षमा उभ्याएका हुन्। अर्थात् उनीहरु अब संस्थापनलाई साथ दिने निचोडमा पुगेका हुन्। यसरी एकताको पक्षमा उभिनेहरुमा सुर्खेतका ध्रुवराज शाही, मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशंखे छन्।
बम, शाही र बुढा प्रत्यक्ष निर्वाचित हुन् भने विशंखे समानुपातिक सांसद हुन्। यसबारेमा दैलेखका सांसद राजबहादुर बुढाले फरकधारसँग कुरा गर्दै आफूहरु फुटको पक्षमा नरहेको बताए। 'हामीले नेपाल पक्षलाई छाडेर ओलीलाई साथ दिएको भन्दा पनि फुटको पक्षमा नलाग्ने निचोड निकालेका हौँ', उनले भने, 'अहिले पनि माधव नेपाल, केपी ओली र वामदेव गौतम सबैको पार्टी एमाले हो। हामी पनि एमालेमै रहन्छौं, पार्टीलाई फुटको दिशामा लैजाने अभियानमा हामी सहभागी हुँदैनौँ।'
उनले अहिले आफू दैलेखमा जनताबीच रहेको बताउँदै यसलाई गुट फेरेको रुपमा नबुझ्न आग्रह गरे। 'हामीले नेपाल छाडेर ओली समातेको रुपमा यसलाई नबुझ्नु होला। हामी एकताको पक्षमा छौँ, एमाले बचाउने पक्षमा उभिएका हौँ', उनले अगाडि भने, 'यदि पार्टी विभाजन हुने अवस्था रह्यो भने हामी एमालेमै रहन्छौं, यसमा हामी प्रष्ट छौँ। अहिले पनि एमाले पार्टी कायमै रहेकाले विवादमा मुछिएका सबै नेता पनि यही पार्टीमा छन्।'
उनीहरुले वैशाख २ को बालुवाटार छलफलपछि फुटको पक्षमा नलागी एमालेमै रहने निचोड निकालेका हुन्। उनीहरुको यही निचोडपछि ओलीले चारैजनालाई स्पष्टीकरण पत्र पनि पठाएनन्। 'म अहिले गाउँमा छु, यहाँ इन्टरनेट पनि चल्दैन', बुढाले भने, 'तर हामीलाई स्पष्टीकरण नसोधिएको कुरा सुनेको छ। हामीले पार्टी हितविपरीत कुनै काम गरेकै छैनौँ, त्यहीकारण स्पष्टीकरण नआउनुलाई अनौठो मानेका छैनौँ, माधव नेपाल वा केपी ओलीतिर लागेको होइन, एकताको पक्षमा उभिएका हौँ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।