विश्व फुटबललाई तरंगित पार्ने युरोपियन सुपर लिग
लिगमा सहभागी हुने क्लब र खेलाडीलाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाउने युइएफएकाे चेतावनी

आइतबार युरोपका शीर्ष १२ टोलीले संयुक्त विज्ञप्ति निकाल्दै युरोपियन सुपर लिगको घोषणा गरे । ठूला क्लबको यो निर्णयबाट विश्व फुटबल तरंगित बन्यो । अहिले यसबारे विभिन्न टीकाटिप्पणी हुन थालेका छन् ।

यसरी सुरु भयो युरोपियन सुपर लिगको अवधारणा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण युरोपियन फुटबलले पनि ठूलो आर्थिक संकटको सामना गर्नुपर्यो । यो समस्या समाधानका लागि युरोपका ठूला क्लबले युरोपियन सुपर लिग गठन गर्ने निर्णय गरे । 

केही वर्ष पहिलेदेखि नै युरोपका ठूला क्लबले, युरोपियन लिगको गुणस्तर सुधार गर्न क्लब र खेलाडीका लागि नयाँ ढाँचाको प्रतियोगिता आवश्यक रहेको बताउँदै आएका थिए । यी क्लबले कोरोनाकालमा आर्थिक संकटबाट गुज्रिरहेका क्लबलाई युरोपियन फुटबलको उच्च निकाय युइएफएले नहेरेको आरोप लगाउँदै आएका थिए । 

त्यसपछि यी क्लबलले एक बैठकमा नयाँ लिगको सिर्जना गर्ने निर्णय गरेका थिए । युरोपियन लिगका मुख्य योजनाकार स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरिटिनो पेरेजलाई मानिन्छ । 

सुपर लिग किन आवश्यक ?



सुपर लिगको अवधारणा ल्याउने १२ क्लबमध्ये स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष तथा सुपर लिगका प्रमुख फ्लोरिन्टिनो पेरेजले फुटबललाई जोगाउनका लागि युरोपियन सुपर लिगको अवधारणा ल्याएको बताएका छन् । 

‘युइएफले अर्कै अवधारणामा प्रतियोगिता गर्दै छ । यसले फुटबल क्लबलाई आवश्यक आम्दानी हुँदैन,’ पेरेजले भने, ‘त्यसैले फुटबल जोगाउन हामीले युरोपियन सुपर लिगको अवधारणा ल्याएका हौँ ।’



पेरेजले कोरोना महामारीका कारण आर्थिक संकटबाट गुज्रिरहेका क्लबको आर्थिक अवस्था उकास्न पनि युरोपियन सुपर लिग आवश्यक रहेको बताएका छन् । 

यी क्लबको संलग्नता  

युरोपियन सुपर लिगको संस्थापकमा युरोपका शीर्ष १२ टोली रहेका छन् । जसमा ६ इंग्लिस र समान ३–३ इटालियन र स्पेनिस क्लब छन् । 

यसमा इंग्ल्यान्डका चेल्सी, आर्सनल, म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्याम छन् । 

इटालीका इन्टर मिलान, युभेन्टस र एसी मिलान तथा स्पेनका रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड छन् । 

यस्तो हुनेछ सुपर लिग ? 

युरोपका ठूला क्लबले युइएफएसँग टाढिने निर्णयसँगै आफ्नो छुट्टै लिगको घोषणा गरे । यो लिगमा यिनै क्लबको लगानी रहनेछ । 

यसमा सहभागी क्लबले आफ्नो घरेलु लिगमा सहभागी हुँदै, च्याम्पियन्स लिगका खेल भएको समयमा भने युरोपियन सुपर लिग खेल्नेछन् । 

यसमा सुपर लिगका संस्थापक क्लबसहित ३ नयाँ क्लबले पहिलो संस्करणमा सहभागिता जनाउनेछन् ।
 
लिगले प्रत्येक सिजनमा विभिन्न ५ क्लबलाई छनोट चरणमार्फत समूह चरणमा सहभागी गराउनेछ । यसरी लिगमा कुल २० टोलीले सहभागिता जनाउनेछन् । 

यी २० टोलीलाई २ समूहमा विभाजन गरी ‘होम एन्ड अबे’का आधारमा खेलाइनेछ । 

समूह चरणपछि ८ टोलीले नकआउट प्रतियोगिताका लागि छनोट खेल्नेछन् । छनोटपछि मात्र ४ टोलीले युरोपियन सुपर लिग च्याम्पियनसिपको प्ले अफमा प्रतिस्पर्धा गर्नेछन् । 

सफलता पाउनेमा अन्योल 

आइतबार यी क्लबले संयुक्त विज्ञप्ति निकालेर युरोपिन सुपर लिगको घोषणा गरेको केही घन्टामै युरोपियन फुटबलको उच्च निकाय युइएफए, प्रिमियर लिग, सिरी ‘ए’ र ला लिगाले पनि विज्ञप्ति निकाले । 

युइएफएले निकालेको विज्ञप्ति यस्तो छ

इंग्ल्यान्ड फुटबल संघअन्तर्गतको प्रिमियर लिग, रोयल स्पेनिस फुटबल संघअन्तर्गतको ला लिगा र इटालियन फुटबल महासंघअन्तर्गतको सिरी ‘ए’का केही क्लबले घोषणा गरेको युरोपियन लिगको युइएफए घोर भर्त्सना गर्दछ । 

यदि यो सफल भएको खण्डमा सुपर लिगमा सहभागी हुने टोलीले घरेलु लिग र खेलाडीले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन् । 

यसमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि साथ दिने बताइएको छ । 

युइएफएको यस्तो चेतावतीले फुटबल समर्थकलाई सुपर लिगले सार्थकता पाउला वा नपाउला भन्ने कौतुहल जगाएको छ । 

जताततै विरोध 

विभिन्न सञ्चारमाध्यम र समर्थकले युरोपियन सुपर लिगको विरोध गरिरहेका छन् । यो अवधारणाले धनी क्लबलाई अझै धनी र गरिब क्लबलाई अझै गरिब बनाउने सञ्चारमाध्यमले बताउँदै आएका छन् । 


त्यस्तै, इंग्लिस क्लब लिभरपुलका समर्थकले पनि क्लबको यो निर्णयको खुलेर विरोध गरेका छन् ।

सोमबार लिभरपुल र लिड्सविरुद्धको खेल चलिरहेका बेला स्टेडियमबाहिर उनीहरुले ‘लिभरपुलका समर्थक युरोपियन सुपर लिगको पक्षमा छैनन्,’ ‘तिमीले हामीलाई लज्जित बनायौ, हार्दिक श्रद्धाञ्जली लिभरपुल सन् १८९२–२०२१’ जस्ता नाराअंकित कालो ब्यानरका साथ विरोध प्रदर्शन गरेका थिए । 

त्रासमा खेलाडी

युइएफए र युरोपियन सुपर लिगबीचको विवादले खेलाडीमा बेग्लै त्रास र चिन्ता थपिएको छ । यसले उनीहरुको भविष्य अन्योलमा पारेको छ । 

युइएफएले यदि युरोपियन सुपर लिग सञ्चालनमा आए लिगमा सहभागी हुने क्लबलाई घरेलु र च्याम्पियन्स लिग तथा खेलाडीलाई विश्वकप, युरोकपजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाउने चेतावनी दिएकाले खेलाडीलाई बढी त्रसित बनाएको सञ्चारमाध्यमले बताएका छन् ।

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १८:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया