एमालेमै बसेर ओलीविरुद्ध लड्छौँ, टेक्ने जमिन हुँदासम्म लडिरहन्छौँ : रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै बसेर लडिरहने बताएकी छन्। एमाले माधव नेपाल समूहको  आकस्मिक बैठकस्थल बाहिर पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो टिप्पणी गर्दै आएकी उनले टेक्ने जमिन हुँदासम्म लडिरहने बताएकी हुन्। 

'अहिले हामी लडिरहेका छौँ। टेक्ने जमिन हुँदासम्म हामी  लडिरहनेछौँ', उनले भनिन्, 'केपी ओलीले पार्टीमाथि प्रहार गरिरहन्छन् तर हामी लडिरहनेछौँ। हाम्रा लागि पार्टी ठूलो तर सांसद पद त पछि आएको हो, यसको हामीलाई माया छैन।'

उनले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि ओलीविरुद्ध लडाइँ हुन सक्ने बताइन्। 'सांसद पद हाम्रा लागि केही होइन। हामीलाई स्पष्टीकरण सोधेर छेउ लगाउन खोजिएको छ। हामीलाई स्पष्टीकरण सोधेर प्रलय भयो, ध्वस्त भयो भने पनि हामीलाई चिन्ता छैन', उनले भनिन्, 'कम्युनिष्ट आन्दोलनलाई सिद्याउने गरी ओली अघि बढिरहेका छन्। हामीलाई पार्टी र सांसदको पद कसैले टीका लगाएर दिएको होइन, हामी एमाले नै भएर पार्टी भित्रै हाम्रो अस्तित्वका लागि लडिरहन्छौं, कुरा विचार र पद्धतिको हो।'

उनले आफूहरुले पार्टी नफुटाएको पनि बताइन्। 'हामी पार्टीभित्रै संघर्ष गर्छौँ हामी एमाले नै भएर लडिरहन्छौ। कानुनी हिसाबले हामीले पार्टी फुटाएको चिन्नु पर्यो नि ओलीले', उनले थपिन्, 'कारबाहीको लहर चलाएर कम्युनिष्ट आन्दोलन सत्यानाश गर्न खोजेका छन्। पार्टी अध्यक्ष ओलीको कम्युनिष्ट आन्दोलनविरुद्धको चरित्रविरुद्ध हामी लडिरहन्छौँ।'





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १८:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया