माओवादीले लगातार बैठक बहिष्कार गरेपछि बागमतीकाे संसद अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको हो । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । संविधानको धारा १८३ को उपधारा २ बमोजिम ०७८ साल वैशाख ७ गते राति १२ बजेबाट प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखबाट जारी सूचनामा उल्लेख छ । 

यसअघि सोमबार बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार अवरोध गरेपछि सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले संसद चलाउन सर्वदलीय बैठक बोलाएका थिए । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी र विवेकशील साझा पार्टीले बहिष्कार गरेका थिए । सर्वदलीय बैठकमा एमालेबाहेक ठूला दलले सहभागिता जनाएका थिएनन् ।

दुई विधेयकसहित प्रतिवेदन रोकियो 

बागमती प्रदेशसभामा मंगलबारसम्म चालू हिउँदे अधिवेशनमा पास हुनुपर्ने दुई विधेयक पेस नभई रोकिएको छ । कार्यसूचीमा रहेका बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले पेस गरेको सडकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको पर्यटनसम्बन्धी विधेयक छलफलविना नै अर्को अधिवेशनमा  गएको हो । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठका अनुसार, महालेखा परीक्षणको प्रतिवेदन, लोकसेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन । 

बागमतीमा पटक–पटक संसद अवरुद्ध भएपछि प्रदेशसभा सचिवालयमा पेस भएका ‘बिजनेस’ रोकिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टरलगायत पूर्वाधार निर्माण हुनुपर्ने विषयमा सरकारको जवाफ मागे पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए  ।

बजेटको छलफल सुरु 



बागमती प्रदेश सरकारले भने अब नयाँ बजेटका लागि छलफल सुरु भएको जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलका अनुसार अब बन्ने बजेटका लागि आवश्यक छलफल सुरु भइसकेको छ । उनले भने, ‘हामी बजेटको छलफलमा एक महिना अघिदेखि नै छौँ, चालू बजेटको कार्यान्वयन गर्दै अर्को बजेट कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफलमा छौँ ।’ मन्त्री फुयाँलले बजेट अधिवेशन सुरु हुने र प्रि–बजेटको छलफलको विषयमा भने तत्काल निर्णय नभएको बताए । 



  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १९:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया