माधव-झलनाथले देउवालाई भने : ओलीविरुद्ध बहुमत पुग्‍ने 'फ्लोर क्रस' हुन्छ, अघि बढ्नुस्

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बिदा गर्न आफूनिकट सांसदहरु फ्लोर क्रस गर्न तयार रहेको बताएका छन्। 

अर्याल होटलमा भएको आकस्मिक बैठकपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दुवै नेताहरुले ओलीविरुद्ध आफू पक्षीय सांसदहरुले बहुमत पुग्ने गरी फ्लोर क्रस गर्ने आश्वासन दिएका छन्। 

ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले अझैसम्म फिर्ता लिन नसकेको अवस्थामा एमालेकै दुई नेताहरु देउवालाई मनाउन पुगेका हुन्। बूढानीलकण्ठमा भएको छलफलका क्रममा दुवै नेताले ओलीविरुद्धको अविश्वास प्रस्तावमा बहुमत पुग्ने गरी आफ्ना सांसदहरुले फ्लोर क्रस गर्ने भन्दै देउवालाई अघि बढ्न आग्रह गरेका हुन्।

देउवाको सचिवालयका एकजना सदस्यका अनुसार दुवै नेताले ओली हटाउने भूमिकाको नेतृत्व गर्न आग्रह गरेका थिए। पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल-खनालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

उक्त स्पष्टीकरणले आफूहरुलाई कानुनी रुपमा अफ्ठ्यारो नपर्ने भन्दै दुवै नेताले अब ओलीलाई बिदा गर्ने काममा अघि बढ्न देउवालाई भनेका थिए। 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन नेतृत्वदायी भूमिका खेलिदिनुस्', उनीहरुको भनाइ उद्धृत गर्दै देउवानिकट स्रोतले भन्यो,  'संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुस्, त्यसमा पुग्ने गरी 'फ्लोर क्रस' गरेर हामी साथ दिनेछौँ।'

ओलीलाई बिदा गर्न तम्तयार नेपाली कांग्रेस, माओवादी र जसपाको एउटा समूहले अझैसम्म बहुमत जुटाउन सकेका छैनन्। बहुमत अभावले समस्यामा परेका यी दललाई माधव-झलनाथ समूहको प्रस्तावले नयाँ निर्णयका लागि अघि बढाउन सक्छ। 



कांग्रेस-माओवादीसँग मिलेर आफूविरुद्ध माधव समूहले मोर्चाबन्दी गर्न लागेको थाहा पाएपछि ओलीले थप कारबाही अघि बढाएका थिए। उनले नेपाल-खनाललाई सुध्रिएर पार्टीमा फर्किन भन्दै दुई दिनको समय दिएर स्पष्टीकरण सोधेका छन्। 

उनीहरु दुवैजना सभापति देउवालाई भेटेपछि नेता भीम रावल निवासतिर पसेका छन्। नेता रावलले ओलीविरुद्ध अब संघीय संसदमा पनि कर्णालीमा जस्तै फ्लोर क्रस हुन सक्ने बताएका छन्। उनले पार्टी फुट्न पनि सक्ने बताउँदै त्यसका लागि पनि तयार रहन बताइसकेका छन्। 



कर्णालीमा फ्लोर क्रस गरिसकेपछि पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा वार्ता भएको थियो। उक्त वार्ताबाट दाहाल-नेपालले एमालेका २२ देखि २५ जना सांसदलाई फ्लोर क्रस गराएर ओली ढाल्ने योजना बनाएको स्रोत बताउँछ। 

तर कांग्रेस सभापति देउवाले अझै पनि नयाँ सरकारका लागि खुट्टा उचालिसकेका छैनन्। उनको प्राथमिकतामा अहिले पनि पार्टीको १४ औँ महाधिवेशन र अमेरिकी परियोजना एमसिसी छ। 

देउवाले जसपा अध्यक्ष महन्थ ठाकुरसहित बहुमत पक्ष ओलीको साथमा रहेकाले सजिलो नभएको बताएका छन्। उनले जसपा पनि ओलीसँग मिलेको बताउँदै कांग्रेस र माओवादी केन्द्रले मात्रै नयाँ सरकार गठन असम्भव रहेको बताइरहेका छन्। तर ओलीको कानुनी कारबाहीबाट जोगिँदै फ्लोर क्रसको योजनामा माधव-झलनाथ अघि बढेपछि देउवाले छलफल थालेका छन्। 

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार २१:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया