महन्थसँग खुसी भए ओली तर जसपा तत्काल सरकारमा नजाने
सरकारले तदारुकता नदेखाएको महन्थको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सघाएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार बोलाएर धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएर टिकाउन भूमिका खेलेकोमा खुसी हुँदै ठाकुरप्रति आभार व्यक्त गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलका क्रममा ओलीले अब केन्द्र सरकारलाई पनि साथ दिन अपिल गरेका हुन्। ओलीले जसपाको साथ पाए अविश्वासको संकटमा निस्किने बताउँदै समर्थन जनाएर सरकारमा आउन आग्रह गरेका थिए।

तर ठाकुरले आफ्ना मागहरु अझै पूरा हुन बाँकी नै रहेको भन्दै गुनासो गरेको स्रोतले जनाएको छ। बालुवाटारमा छलफलका लागि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, उक्त पार्टीका कार्यदल सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल पनि गएका थिए।

प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्तासहित बन्दी रिहाइ प्रकृया जारी रहेको भन्दै शंका नगर्न आग्रह गरेका थिए। आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले केही दिनमै सबै कुरो टुंगोमा पुग्ने बताएका थिए।

ओलीले दिएको आश्वासनबारे जसपा कार्यदल सदस्य लक्ष्मणलाल कर्णले पनि पुष्टि गरेका छन्। 'हाम्रा मागबारे प्रधानमन्त्री ओलीले एक दुई दिनमै पूरा गर्ने बताउनुभयो', उनले भने, 'त्यही अनुसार सरकारले काम गर्दैछ, परिणाम आउने जवाफ दिनुभयो।'

सहमति 



जसपा र सरकारबीच पटक पटक चलेको वार्तापछि दुई पक्ष विभिन्न सहमति नजिक पुगेको बताइएको छ। स्रोतका अनुसार मधेस आन्दोलनका क्रममा २४ प्रकृतिमा २०८ जनाविरुद्ध हालिएको मुद्दा मन्त्रिपरिषदबाट फिर्ता लिने सहमति भएको छ। त्यस्तै आन्दोलनका क्रममा विभिन्न मुद्दामा थुनामा रहेका बन्दी रिहाइ पहल गर्ने सहमति पनि सरकारले गरेको छ।

त्यसैगरी असन्तुष्ट जसपाको माग पूरा गर्न प्रधानमन्त्रीले संविधान संशोधनका लागि पुनरावलोकन आयोग बनाउने बचन दिएका छन्। मधेस आन्दोलनका क्रममा भएको मानवअधिकार हनन र क्षतिबारे अध्ययन गर्न गठित लाल आयोगको प्रतिवेदन संक्षेपीकरण गरी सार्वजनिक गर्ने सहमति पनि भएको छ।



त्यस्तै जसपाले ओली सरकारलाई समर्थन गर्ने पनि सहमति भएको छ। तर उक्त सहमति अनुसार जसपा तत्कालै सरकारमा नजाने भएको छ। जसपामा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो ओलीको पक्षमा छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली हटाऊ अभियानमा कांग्रेस-माओवादीसँग छन्।

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार २१:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया